त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट: नेदरल्यान्ड्सलाई हराउँदै नेपाल च्याम्पियन

फाईल तस्विर !!

काठमाडौं,बैशाख,११-नेपालले घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको हो ।

नेदरल्यान्ड्सविरुद्धको यो जित नेपालको सर्वाधिक रनको जित हो ।  यसअघि नेपालले भुटानविरुद्ध १ सय ४१ रनको जित निकालेको थियो ।

यससँगै नेपालले पहिलो पटक टी-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन-५ को उपाधि जितेको थियो ।

नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।

 

खराब सुरुवात गरेको नेदरल्यान्ड्सले ७ ओभर ४ बलमा टोलीको मात्र ४२ रन हुँदा ६ विकेट गुमाएको थियो ।

नेदरल्यान्ड्सले पहिलो विकेटका रुपमा टोवियस भिसीलाई गुमाएको थियो । नेदरल्यान्ड्सको मात्र १० रन हुँदा भिसी दोस्रो ओभरको पाँचौ बलमा आसिफ शेखले डाइरेक्ट थ्रो हिटबाट रन आउट गरेका थिए । उनी २ रनमा पेभिलियन फर्किए ।

दोस्रो विकेटको रुपमा बेन कुपर लामो सर्ट खेल्ने चक्करमा पेभिलियन फर्किए । उनी कमल सिंह ऐरीले गरेको चौथो ओभरको अन्तिम बलमा बाउन्ड्रिलाइनमा रहेका कप्तान मल्लले क्याच गर्दै कुपरलाई ७ रनमा पेभिलियन फर्काएका थिए ।

यस्तै नेदरल्यान्ड्सले टिमको ३३ रन हुँदा पाँचौ ओभरको पाँचौ बलमा तेस्रो विकेट गुमायो । कुशल भुर्तेलले डाइरेक्ट हिट गर्दै बास डे लिडलाई एक रनमा पेभिलियन फर्काए ।

चौथो विकेटको रुपमा २० रनमा खेली हरेका म्याक्स डाउड मैदान बाहिरिए । उनी छैटौं ओभरको चौथो बलमा करण केसीले बोल्डआउट गरेपछि मैदानबाट बाहिरिएका थिए । उनले १९ बलमा २ चौका र एक छक्का प्रहार गरे ।

त्यसपछि मैदान आएका विकेटकिपर स्कट एडवार्ड पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी सन्दीप लामिछानेले गरेको सातौ ओभरको चौथो बलमा एलबीडब्लुको सिकार बनेका थिए । एडवार्डले एक चौकासहित ५ रन जोडे ।

एन्टोनिअस स्टल शुन्य रनमा नेदरल्यान्ड्सका लागि पेभिलियन फर्किए । उनलाई करण केसीले गरेको आठौं ओभरको चौथो बलमा लेग साइडको लङअनमा रहेको सोमपाल कामीले क्याच गर्दै पेभिलियन फर्काएका थिए ।

 

१३ रनमा खेलीरहेका कप्तान पिटर सिलार करणको बलमा बोल्ड आउट भए । उनले १२ बलमा २ चौका प्रहार गरे । आठौं विकेटको रुपमा ७ रनमा खेलिरहेका फिलिप्पे बोइसेविन पेभिलियन फर्किए । उनी सन्दीप लामिछानेको बलमा लङअनमा रहेको सब्सिच्युट खेलाडी सन्दीप जोराले क्याच गर्दै पेभिलियन फर्काएका थिए ।

कमल सिंह ऐरीको बलमा लामो सट खेलेका पउल भान मिकेरनलाई लङअनमा रहेको कुशल मल्लले क्याच गर्दै आउट गरे । उनले ५ रन जोडे ।
४ रनमा खेलिरहेका विविअन किंग्मालाई अभिनास बोहराले बोल्ड गरेका थिए । सेवास्टीयन ब्राट भने सर्वाधिक २६ रन बनाउँदै अविजित रहे । उनले २७ बलमा ३ चौका र एक छक्का प्रहार गरे ।

नेपालका लागि करण केसीले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चदै तीन विकेट लिएका थिए । कमल सिंह ऐरी र सन्दीप लामिछाने समान दुई–दुई तथा अभिनास बोहराले एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो कीर्तिमानी लक्ष्य हो ।

यस अघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।

नेपालको कीर्तिमानी स्कोरमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।

 

भुर्तेलले तेस्रो विकेटको रुपमा नेपाललाई ७७ रनको योगदान दिए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए ।

उनी सेवास्टीयन ब्राटले गरेको १६ औं ओभरको चौथो बलमा लङअनमा पिटर सिलारको हातबाट क्याच आउट हुन पुगे । उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए भने कुशल मल्लसँग ७६ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियो । फिलिप्पे बोइसेविनले गरेको तेस्रो ओभरको दोस्रो बलमा आसिफ पेभिलियन फर्किएका हुन् । उनी लामो सट खेल्ले चक्करमा लङअनमा वान मिकेरनको हातबाट क्याच हुँदै पेभिलियन फर्किएका थिए । उनले ८ बलमा एक चौका र २ छक्का सहित १६ रनको योगदान दिए ।

दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मैदानबाट बाहिरिए । उनी दशौं ओभरको तेस्रो बलमा लङअनमा क्याच हुन पुगेका थिए । फिलिप्पे बोइसेविनले गरेको बलमा कप्तान पिटर सिलारले लङअनमा क्याच गर्दै मल्ललाई मैदान बाहिर पठाएका थिए । उनले १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनको योगदान दिए ।

कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे । उनले १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनको अविजित इनिङ्स खेलेका हुन् ।

कुशल मल्ल र ऐरीले ७८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चेर दुई विकेट लिएका थिए । यस्तै सेवास्टीयन ब्राटले एक विकेट लिए ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सिरिजमा नेपाल समूहको शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । नेदरल्यान्ड्सले भने दोस्रो स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको हो ।मलेसिया भने जित लिग चरणबाटै बाहिरिएको थियो ।