केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेस पार्टीबाट निष्काशित

 

काठमाडौं,कात्तिक,२२-सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो ।

केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समितिले जनाएको छ ।

पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य समेत नरहनेगरी निकालिएकाे कांग्रेसले विज्ञप्तिमार्फत जनाएकाे हाे ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेस केन्द्रीय अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

केन्द्रीय सदस्य कोइराला चितवन ३ बाट गठबन्धन विरूद्व बागी उठेका छन् । उनलाई प्रमुख प्रतिपक्षी दल एमालेले सघाएको छ ।