पाकिस्तान विश्वकपको फाइनलमा

पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ

काठमाडौ,कार्तिक,२३-पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो ।

सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल भोलि हुनेछ । न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले ।

मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित २ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहँदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । कप्तान केन विलियम्सनले ४६ रन बनाए।पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो ।