सीमा नाका बन्द

निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द

रौतहट ,३१ भदौ      स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गएराति १२ बजेदेखि निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समय भन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो । निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिन देखि नै विशेष निगरानी बढाइएको थियो । अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन भएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवतजावत गर्नमा रोक लगाउँदै पूर्णरुपमा सीमा सिल गरेको छ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाई मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्लासँग भारतको सिमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको हो । शनिवार देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् । सघन चेकजाँचका पछि पैदल यात्रुहरुलाई शनिवार हिँडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्णरुपमा सिमा सिल हुने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । तर अतिआवश्यक उपचारका लागि बिरामी बोकेर हिँडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ ।

रौतहट जिल्लाको २६ किलोमिटर भू–भाग भारतीय सिमानासँग जोडिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका गौर भन्सार कार्यालयको ढाँटमा ताल्चा लाएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएकोे सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए । असोज ३ गतेसम्मको लागि मदिराजन्य सबै किसिमका कारोबार तथा सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसै गरी जिल्ला सुरक्षा समिति रौतहटले स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्ला भरी कुनै पनि किसिमको मदिरा ओसारपसार, बिक्री–वितरण तथा सेवनसमेत निषेध गरेको छ ।