तडकभडक गर्नेको उम्मेद्वारी रद्द हुने प्रमुख निर्वाचन आयुक्तको चेतावनी

काठमाडौं,२९ भदौ      २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारको उम्मेद्वारी नै रद्द गर्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन्।‘चुनावमा उम्मेद्धवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी ‘अन द स्पट’ कारबाही गर्छौं,’ उनले भने, ‘उम्मेद्धवारहरुको उम्मेद्धवारी नै खारेजसम्म गरिदिन्छौं।’

उनले मधेशमा अहिले सामाजिक–साँस्कृति पर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुनेसमेत बताए। साक्षात्कारमा बोल्दै उनले उम्मेद्धवारहरुले खर्च गरेको भए ती उम्मेद्धवारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीहरुसँग आग्रह गरे। चुनाव खर्चिलो भयो सामान्य मानिसले लड्नै नसक्ने अवस्था आयो भनि भन्ने सञ्चारकर्मीको प्रश्नमायादवले भने, ‘यसलाई अन्यथा लिनुहुन्न अहिले मुलुक सम्पन्नतातिर लम्कँदैछ, सबै धनी हुनु त राम्रो हो, अब धनी भइसकेपछि प्रतिष्पर्धा हुनु स्वभाविक हो।’

निर्वाचन आचारसंहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल विस्तारमा आयोगको पूर्ण ध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाई राखे। ‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नु भएन, यसबारेमा हाम्रो ध्यानाकर्षण भएको छ, बस त्यती हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन्, तर यसको मतलव यो होईन कि आयोग निरीह भने छैन।’

आयोगको ध्यानाकार्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा पत्रकारहरुसँग जवाफ पनि दिएको उनले जनाए। यादवले अगाडि भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको छ कि अहिले संक्रमणकालिन अवस्था भएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यता भयो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढि विवाद गर्न चाहँदैन्।’ यस्तै उनले निर्वाचन आचार संहिता उल्लंघनबारे उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग स्पष्टिकरण समेत मागिएको बताए। उनले भने,‘राष्ट्रिय नेताहरुले स्पष्टिकरण दिनुभएको छ, उहाँहरुको जवाफमा आचारसंहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ।’

यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरे। उनले भने,‘हामीले निर्वाचन आउनुभन्दा ८६ दिन अघिमात्रै आचारसंहिता लगाएका छौं, निर्वाचनको मिति घोषणा भए पनि आचारसंहिता लगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालना गर्नुपर्छ।’

उनले आचारसंहिता उल्लंघनलाई उत्साहसँग जोडेर हेर्न समेत उनले आग्रह गरे । यादवले भने,‘२० वर्षपछि निर्वाचन हुँदैछ, मतदाताहरु ज्यादै उत्साही छन्, उहाँहरुले होलीको पर्वजस्तो, रंग र अविर लगाएर उत्साह मनाईरहनुभएको छ, आचारसंहिता पनि उल्लंघन भएका घट्नाहरु आईरहेका छन्, तर हामीले कडाईका साथ नियमन गरिरहेका छौं।’

उनले मतदाता परिचयपत्र लिएर मतदान गर्न मतदाताहरू उत्साहित भएको भन्दै उनीहरूलाई उत्साहित पार्ने काम पनि भइरहेको बताए। मतदाता शिक्षाको काममा पनि आयोग लागिरहेको बताए। अधिकांश अधिकृतहरू निर्वाचन क्षेत्रमा पुगेको स्मरण गराउँदै यादवले भने,‘२९, ३० र ३१ गते मतदाता परिचय पत्र लिन आउनेलाई उचित शिक्षा दिन हाम्रा साथीहरू लागिरहनुभएको छ।’

यादवले निर्वाचनलाई जनताहरुले उत्साहको रुपमा लिएको उल्लेख गर्दै भने,‘अहिलेसम्म कुनै अप्रिय घट्ना घटेका छैनन्, अकल्पनीय कुरा पनि आएका छैनन्, हामी निर्वाचन सफल बनाउन लागिरहेका छौं।’ निर्वाचन सफल बनाउनको लागि उनले सहयोगी हातहरुको खाँचो रहेको भन्दै नागरिक समाज र पत्रकारहरुसँग विशेष आग्रह गरे ।

उनले निर्वाचनको सम्पूर्ण तयारी भैरहेको समेत विश्वास दिलाए । यद्धपी उनले केही अघिसम्म बाढीका कारण मधेशमा भयभित अवस्था रहेको भएपनि अहिले त्यो अवस्था नरहेको स्पष्ट पारे । ‘आयोगको अनुरोधमा नेपाली सेनाले आवातजावत सहज भएको छ, सुरक्षाको अवस्था पनि धेरै राम्रो छ, सम्पूर्ण सुरक्षाकर्मीहरु सरकारले डिप्लोईड गरिसकेको छ ’उनले भने ।