अपि पावरको ४७ % हकप्रद शुक्रवारदेखि विक्रीमा आउने

फाईल तस्विर !!

काठमाडौं,कात्तिक,१३-गत फागुन १२ गते हकप्रद निष्कासन गर्न स्वीकृति पाएको अपि पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले १ बराबर शून्य दशमलव ४७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गर्न लागेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले वित्तीय लगानीको सम्झौता भएपश्चात मात्र हकप्रद निष्कासन गर्ने शर्तमा उक्त कम्पनीलाई हकप्रद निष्कासनको लागि स्वीकृति दिएको थियो । कम्पनीले बोर्डको शर्त अनुसार गत असोज ११ गते रू. ५ अर्ब १८ करोड बराबरको लगानी गर्ने गरी ६ ओटा संस्थाहरुसँग सम्झौता गरेको छ ।

कम्पनीले ४७ प्रतिशत हकप्रद र साधारण सभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको यो हकप्रदलाई इक्रा नेपालले औषतभन्दा तलको आधार संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै अपि पावर कम्पनीको थापाथली कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, बीरगञ्ज, पोखरा , बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेतका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोकुेलेश्वर, नौंगाड, खलंगा र बैतडीबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखाकार्यलय र सिडिएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 
कम्पनीले तेस्रो जलविद्युत् आयोजनको रुपमा रहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाख रहेको छ ।

सोहि चुक्तापूँजीको आधारमा कम्पनीले हकप्रद विक्री गर्न लागेको हो । उक्त कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब र जारी पूँजी रू. ४ अर्ब रहेको छ । हकप्रद पश्चात अपिको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ७७ लाख पुग्नेछ । 

उक्त कम्पनीले यस अघि दुई आयोजनाहरु निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ । अपिले दार्चुला जिल्लामा रहेको ८ दशमलव ५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजनाबाट २०७२ भदौ २ गतेदेखि र ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजनाबाट २०७६ साल कात्तिक १३ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको हो ।

कम्पनीले दार्चुला जिल्लामै तेस्रो आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । यो आयोजना निर्माणका लागि कुल रू. ७ अर्ब ४० करोड बराबरको लगानी लाग्ने अनुमान कम्पनीको छ । 

कम्पनीको कुल लागत मध्य ३० प्रतिशलते हुने रकम आफ्ना शेयरधनीहरुमा दुई चरणमा हकप्रद शेयर जारी गरी संकलन गर्ने र बाँकी ७० प्रतिशत वित्तीय लगानीबाट जुटाउने बताएको छ । वित्तीय लगानी भने कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट जुटाईसकेको छ । 

पहिलो चरणमा ४७ प्रतिशत हकप्रद विक्री गर्न लागेको उक्त कम्पनीले दोस्रो चरणमा १ बराबर शून्य दशमलव ९१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को लागि ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसहित तय गरेको साधारण सभा हालसम्म अन्योल अवस्थामा रहेको छ । गत चैत ७ गते गर्ने भएको साधारण सभाका लागि अपिले चैत १ गतेनै बुक क्लोज गरेको थियो ।

उक्त सभामा ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ९१ को अनुपातमा दोस्रो चरणमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम थियो । 

गत चैत ७ गते तय गरिएको साधारण सभा लकडाउनका कारण स्थगित भएको हो । अब प्रस्तावित विषयहरु यथावत रहने गरी गत आर्थिक वर्षको वार्षिक साधारण सभा सँगै संयुक्त सभा गर्ने कम्पनीका अध्यक्ष न्यौपानेले बताएका छन् । आर्थिक अभियानबाट