४ दिनमै दोब्बरले वृद्धि भयो संक्रमण, तेस्रो लहरको दोस्रो चरण शुरु

काठमाण्डौं,पुस,२२-नेपालमा कोभिड-१९ को तेस्रो लहर ओमिक्रोन भेरिन्टको संक्रमण दिनप्रतिदिन उकालो लागिरहेको छ ।

दैनिक संक्रमण संख्या २०० हाराहारीमा झरिसकेको नेपालमा अहिले फेरी दैनिक ५०० भन्दा धेरैमा संक्रमण देखिन थालेको छ ।

पुस १८ गतेको तथ्याङ्कमा जम्मा २१६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भने हरेक दिन संक्रमितको संख्या उकालो लागिरहेको छ ।

पुस १९ गते ३२६ जनामा संक्रमण पुष्टि भएकोमा, पुस २० गते ३९६ जनामा र पुस २१ गते ४३५ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीवार भने ५४० जनामा संक्रमण पुष्टि भएसँगै तेस्रो लहरको महामारी दोस्रो चरणमा प्रवेश गरिसकेको आकलन गरिएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २५ लाख ७५ हजार संक्रमित थपिदा ७ हजार ५०० भन्दा धेरैको मृत्यु भएको थियो ।

पछिल्लो समय कोरोनाबाट धेरै प्रभावित हुने देशमा फ्रान्स अघि देखिएको छ। फ्रान्समा दैनिक साढे ३ लाख व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। फ्रान्सपछि बेलायतमा दैनिक २ लाख हाराहारी नयाँ संक्रमित पहिचान भइरहेका छन् ।

छिमेकी देश भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या एक लाख हाराहारी पुगीसकेको छ ।

नेपालमा अहिले मृत्युदर कम देखिएपनि माघ तेस्रो साता सम्म संक्रमण व्यापक रुपमा फैलिन सक्ने र मृत्युदर पनि बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।