नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं,पुष,२२-नेपालमा विगत २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ७ हजार २०९ पीसीआर परीक्षणमा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षणमा ६२ जना गरी कुल ५४० जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, सोही अवधिमा देशभर १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना पुगेको छ ।यसैगरी, बिहीवार २७१ जना निको भएसँगै हालसम्म ८ लाख १३ हजार ४४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।