गरिबलाई झन गरिब बनाउँदै सरकार

न्यायचोति कर आवश्यक :जनता

नेपालगञ्ज ३, जेष्ठ
न्यायचोति कर प्रणालीको प्रभावबाट बिपन्न परिवारको बिकासमा ठुलो मद्दत पुग्ने एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् ।

जनताले कर तिरेपनि राज्यबाट पाउनुपर्ने सेवा सबिधा सबैले सहज रुपमा पाउन नसकेको भन्दै बिपन्न परिवारको हितमा कर प्रणाली नभएकाले न्यायचोति कर प्रणाली आवश्यक रहेको बुधबारबाट नेपालगञ्जमा शुरु भएको कर शक्ति सम्बन्धिको एक तालिमका सहभागिहरुले बताएका हुन ।

नोराडकोको सहयोग समन्वयमा एक्सन एड पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जकोे आयोजनामा बुधबारबाट शुरु भएको तीन दिने गुणस्तरिय शिक्षाका लागि स्थानीय श्रोत साधानको प्रयोग परियोजना अन्तर्गत कर शक्ति अभियान बारे क्षमता अभिबृद्धि कार्यक्रममा बोल्ने सहभागिहरुले जबसम्म राज्यले आम्दानीको स्तर अनुसार कर असुल्ने नीति नहुँदासम्म देशका बिपन्न परिवारको बिकास हुन नसक्ने बताए ।

उनीहरुले कम आम्दानी तथा अर्बौ कमाउने व्यक्तिले सरकारलाई बराबर कर तिर्नुपर्ने नीतिका कारण गरिब झन गरिब बन्दै गएको धारणा प्रस्तुत गरे । कर तिरिरहेको भएपनि सरकारले उसलाई दिनुपर्ने सेवा सुबिधा दिन नसक्दा गरिबका बालबालिकाहरुको शिक्षा दिक्षामा समेत असर पर्दै उनीहरु सम्पन्नका बालबालिकाहरुको लेभलसम्म पुग्न नसकेको भनाई राखेका थिए ।

तालिमको पहिलो दिन कर शक्ति भनेको के हो, कर किन आवश्यक छ, नेपालमा सामुदायिक बिद्यालय शिक्षाको अवस्था र सर्वसाधरणले तिरिरहेको करबाट हुन सक्ने बिकासका गतिबिधि बारे गहन छलफल गरिएको एक्शन एड पश्चि क्षेत्रीय कार्यालय नेपालगञ्जका बिशाल रानामगरले जानकारी दिनुभयो ।

तालिममार्फत मध्य तथा सुदुरपश्चिम क्षेत्रको कर शक्तिको प्रभाव र यसमार्फत गुणस्तरिय शिक्षा निर्माण गर्न सकिने भूमिका बिषयमा छलफल गरिने जनाइएको छ । तालिममा पश्चिमको धनगढी, डोटी, नवलपरासी, पाल्पा, बाँके, दाङ र बर्दियाका बिभिन्न सामुदायिक संस्थाका प्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, युवा क्लब, बाल क्लब लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।