राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने

काठमाडौं,फागुन,१८-

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो ।

फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ । संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ । गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहोर्‍याउने निश्चितप्राय रहेको एमालेका एक वरिष्ठ नेताले जानकारी दिनुभयो । २३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बस्ने एमालेका ती नेताले दाबी गर्नुभयो। आजको अन्नपूर्णमा खबर छ ।