नेपालगञ्जको सडक, नाला निर्माणका लागि सम्झौता

नेपालगञ्ज, फागुन,१८-

नेपालगञ्जको भित्री सडक तथा ढल,नाला निर्माणका लागि औपचारिक रुपमा लिखित ठेक्का सम्झौता गरिएको छ । नगर भित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडी्टएसजे जेभीसँग नेपालगञ्ज उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको हो ।

उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीेवीच सम्झौता भएको हो । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत संचालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत सडक, नाला निर्माणको काम गरिदैछ । सम्झौता अनुसार नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण हुनेछ ।

एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैया(भ्याट र कन्टेन्जेन्सी बाहेक)को लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता रहेको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिनु भयो ।परियोजनाले सम्पूर्ण प्रक्रिया एवं मुल्यांकन गर्दै ठेकेदार कम्पनी छनौट गरेको आयोजना प्रमुख सुनिल ठाकुरले जानकारी दिनु भयो ।

एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासँगको सम्झौताअनुसार परियोजना कार्यान्वयन इकाइ विगतदेखि नै नेपालगञ्जमा रहको छ । सडक तथा ढलहरुको काम चुस्त र प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले मापदण्ड विपरितका घर, पर्खाल लगायतका संरचना हटाउन सार्वजनिक आहवान गरिसकेको छ ।

सर्वप्रथम नगरको चारवाहीनी –त्रिवेणीमोड (सदरलाइन), बलबुलिया रोड विस्तार शुरु हुने जनाइएको छ । नेपालगञ्जको सडक, नाला निर्माणका लागि काम शुरु भइसकेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले समयमै गुणस्तरिय काम सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

विद्यतु, खानेपानी, टेलीकमका संरचना स्वयं व्यवस्थित गर्नका लागि सम्वन्धित पक्षलाई पत्राचार गरेको उपमहानगरपालिकाले सुरक्षा अधिकारी, राजनीतिक दल लगायतसँग समन्वय गर्दै सबैसँग सहयोगको अपील गरेको छ । सडक निर्माणसँगै नेपालगञ्जको समग्र विकासले कोल्टे फेर्ने नगर प्रमुख डा धवल शम्शेर राणाले विश्वास व्यक्त गर्नु भयो ।