माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध चयन

मेरो काँधमा ठूलो जिम्मेवारी थपियो : अध्यक्ष दाहाल

काठमाडौं,पुष,१९-नेकपा माओवादी केन्द्रका नवनिर्वाचत अध्यक्ष पुष्पकमल दाहालले आफ्नो काँधमा ठूलो जिम्मेवारी थपिएको बताउनुभएको छ ।

माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको पहिलो बैठकमा निर्वाचित भएपछिको सम्बोधनमा दाहालले अध्यक्षको सपथ लिदाँ राष्ट्र र जनताप्रति आभारी भएको महसुस गरेको भन्दै पुनः एकपटक राष्ट्र र जनताको सेवा गर्ने अवसर पाएको बताउनुभयो ।

 

अध्यक्ष दाहालले पार्टीलाई रुपान्तरण गर्न र सुदृढ बनाउन आफूले अझै पार्टीको नेतृत्व गर्नुपर्ने महसुस गरेको बताउनुभयो ।

‘देशको समग्र राजनीतिक परिस्थिति, पार्टीको रुपान्तरणको ऐतिहासिक आवश्यकता, देशलाई एउटा विन्दुमा लैजाने आवश्यकता, स्थिरताको एउटा विन्दुमा, विकास र समृद्धिको प्रक्रियामा लैजाने आवश्यकता र पार्टीलाई अझ सुदृढ बनाउने आवश्यकतालाई हेर्दा मैले अझ केही समय दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘मैले सक्रिय नै हुनुपर्छ भन्ने बाध्यता रहेको महसुस हुने गर्छ ।’

अध्यक्ष दाहालले आफुविनाको माओवादी पार्टीको भविष्यबारे अनेक टिकाटिप्पणी हुने गरेको भन्दै आफू नहुँदैमा माओवादी आन्दोलन नसिद्धिने पनि बताउनुभयो । माओवादी आन्दोलन आफूविना पनि जीवित रहने र शक्तिका साथ अघि बढ्ने उहाँले विश्वास छ ।

‘प्रचण्ड नभए माओवादी पार्टी के हुन्छ भन्ने प्रश्न नै गलत छ, माओवादी एउटा क्रान्तिकारी आन्दोलन हो, एउटा क्रान्तिकारी विचार हो । यसले इतिहासमा निकै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण प्रचण्ड नहुँदैमा या अर्को नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुन सक्दैन ।’

अध्यक्ष दाहालले माओवादी आन्दोलन सदा जीवित रहने भन्दै माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत जीवन नभएको उल्लेख गर्नुभयो ।

‘यदि कथम्काल कसैले यसलाई केही समय कमजोर बनायो भने पनि इतिहासले त्यसलाई खोतलिराख्छ, ल्याइराख्छ र माओवादी आन्दोलन सदा जीवित रहनेछ,’ उहाँले थप्नुभयो, ‘शक्तिका साथ अगाडी आउनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहान्छु, माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत चिज होइन ।’

अध्यक्ष दाहालले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताउनुभयो ।