भिमदत्तमा एमालेको रोचक जित

इन्द्र कार्की
महेन्द्रनगर,असार,२४-
निकै चासो तथा रुचिका साथ हेरिएको प्रदेश नं. ०७ कै जेठो तथा ठुलो कञ्चनपुरको भिमदत्त नगरपालिका मेयरमा नेकपा एमाले का उम्मेदवार सुरेन्द्र विष्ट विजयी भएका छन् ।  भीमदत्त नगरपालिकाको मेयरमा एमालेले रोचक जित निकालेको हो ।

मतगणनाको पहिलो चरण देखि नै अग्रता लिएका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार संग कडा प्रतिस्पर्धा गर्दै अन्तिम नतिजा एमालेका उम्मेदवारले आफनो पोल्टामा पार्न सफल भएका हुन्  ।

एमालेका मेयर पदका उम्मेदवार सुरेन्द्र विष्ट, कांग्रेसका मेयर उम्मेदवार पदम बोगटीलाई १ सय ६६ मतले हराउँदै विजयी भएका हुन् । मेयरमा विजयी एमालेका उम्मेदवार विष्टले ११ हजार ८ सय ३१ मत ल्याउँदा कांग्रेसका मेयर उम्मेदवार पदम वोगटीले ११ हजार ६ सय ६५ मत ल्याएर पराजित भए ।

उपमेयरमा कांग्रेसकी उम्मेदवार सुशीला चन्द सिंह विजयी भइन् । एमालेकी माया पन्तलाई पराजित गर्दै सिंह विजयी भएकी हुन्। भीमदत्त नगरपालिकामा ३७,७५४ मत खसेको थियो ।

मेयर संगै नेकपा एमाले ले भिमदत्तका १० वडामा विजय हासिल गर्न सफल भएको छ भने नेपाली कांग्रेस उपमेयर सहित ७ वडा तथा माओवादी केन्द्र २ वडामा विजयी भएको छ । भिमदत्त नगरपालिकामा जम्मा १९ वडा रहेका छन् ।