पार्टी एकताबारे आज नयाँ घोषणा गर्दै ओली र प्रचण्ड

काठमाडौं पुस,२-
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादी केन्द्रबीचको एकताबारे आज अपरान्ह नयाँ घोषणा गर्ने भएका छन्। पार्टी एकतापछि पनि सबै कार्यकारी नेतृत्व एमाले अध्यक्ष ओलीले पाउने भन्ने एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले एकताबारे सिर्जना भएको संसय चिर्न प्रचण्ड–ओलीले नयाँ घोषणा गर्न लागेका हुन्।

यसका लागि आज दिउसो अन्नपूर्ण होटलमा ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। वामगठबन्धनलाई निर्वाचनमा विजय गराएकोमा धन्यवाद दिने प्रयोजनका साथ पत्रकार सम्मेलन आयोजना गरिएको भएपनि त्यसको भित्री उद्देश्य चाहिँ नेताहरुका पछिल्ला केही अभिव्यक्तिका कारण एकता सम्बन्धमा देखिएको संसय चिर्नु हो।

एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकतापछि पनि संसदीय दलको नेता, प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्ता तीनै कार्यकारी पद ओलीले लिने बताएपछि त्यसले एकतामा संसय पैदा गरेको छ। सामाजिक सञ्जालमार्फत् माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले त्यसको विरोध गर्दै यस्तै हुने हो भने पार्टी एकता नगर्न नेतृत्वलाई दबाब दिन थालिसकेका छन्।

‘आज आयोजना गरिएको पत्रकार सम्मेलन खासगरी मतदातालाई वामगठबन्धनको तर्फबाट संयुक्तमा रुपमा धन्यवाद दिनका लागि हो’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भन्नुभयो ‘त्यसबाहेक ओली–प्रचण्डले पार्टी एकताबारे पनि नयाँ कुराको घोषणा गर्ने कार्यक्रम छ। एकताबारे उठेका आशंका निवारण हुनेगरी आज नयाँ कुरा आउनेछ। साभार नेपालखबरबाट