सी जिनपिङ दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा एकमतले चयन

उपराष्ट्रपतिमा वाङ क्विसान र जनकांग्रेसको अध्यक्षमा ली झाङ्सु

काठमाण्डौं,चैत, ३-

चिनियाँ संसदले राष्ट्रपति पदमा सी जिन पिङलाई एकमतले चयन गरेको छ। नेसनल पिपुल्स कंग्रेसमा २९७० प्रतिनिधिले उनलाई मत दिएका थिए। पार्टीको विधानमा आफ्नो विचारधारा सम्मिलित गरेर र राष्ट्रपतिमा दुई कार्यकालको सीमा हटाएर शक्तिशाली बनेका सी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

त्यसैगरी सी जनवादी गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगको प्रमुख पनि चुनिएका छन्। उनले शनिबार ग्रेट हल अफ द पिपुलमा संविधानप्रति निष्ठा जनाउँदै सार्वजनिक शपथ पनि लिए। यस्तो सपथ उनले पहिलो पटक लिएका हुन्।

तेह्रौँ नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिको अध्यक्षमा भने ली झाङ्सु निर्वाचित भए।यसअघि भ्रष्टाचार विरोधी अभियानका प्रमुख बनाइएका वाङ क्विसान उपराष्ट्रपतिमा चयन भएका छन्।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च ३ र तेह्रौं राष्ट्रिय जनकांग्रेस (एनपीसी) को पहिलो अधिवेशन मार्च ५ मा बेइजिङमा सुरु भएको थियो। नेपालखबरबाट साभार