संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू

काठमाडौं,बैशाख,२४-संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार) बाट सुरू हुँदैछ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ।

संसद सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुनेछ।यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।

आगामी आर्थिक बर्षको बजेट जेठ १५ मा संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ।त्यसअघि नै बार्षिक नीति तथा कार्यक्रम पेश हुनेछ।संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।

आइतबारको बैठकको सुरूमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान तथा मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुनेछ।

यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्ने कार्यसूची रहेको छ।यस अघि ११० दिन चलेको पहिलो हिउदे अधिवेशनमा ९२ घण्टा ३० मिनेट बैठक बसेको थियो तर एउटा पनि बिधेयक पारित हुन सकेन।