आहा!रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

पोखरा,चैत,१-मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।

आहा!रारा गोल्डकपको बिजेता मनाङ मर्स्याङ्दी क्लब

यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो ।

टाइब्रेकरमा मनाङ सफल भयो । टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे ।मनाङका निशान लिम्बुको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए ।

पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे ।पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए ।खेल अतिरिक्त समयमा धकेलिनु अघि दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।

पहिलो हाफमा पुलिसको तुलनामा मनाङले अवसर पाएको थियो । खेलको ४३ औं मिनेटमा मनाङका विमल रानाको ओभर हेड किक पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गरेका थिए ।

दोस्रो हाफमा दुवै टोलीले उत्तिकै अवसर खेल फाल्यो । खेलको ४८ औं मिनेटमा पुलिसका निर कुमार राईको डिबक्स भित्रको प्रहार मनाङका किपर किशोर गिरिले मुश्किलले बचाए ।

खेलको ५९ औं मिनेटमा मनाङका अन्जनको ओभर हेड किक बाहिरियो । खेलको ६८ औं मिनेटमा भिदालको पासमा विमलको प्रहार पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

खेलको ८९ औं मिनेटमा अन्जन बिष्टले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिताको वचत रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।खेलपाटीबाट