आज मन्त्रिपरिषद् विस्तार गरिदै

एमालेलाई राष्ट्रपति,उपराष्ट्रपति नपाउँदा जसपा रुष्ट

काठमाडौं,माघ,३-आज मंगलवार मन्त्रिपरिषद् विस्तार गरिदैछ।सोमबार बसेको सात दलीय गठबन्धन दलले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको थियो।

बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गिएकोले आज १ बजे मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रहेको बताउनुभयो।

एमालेलाई राष्ट्रपति, उपराष्ट्रपति नपाउँदा जसपा रुष्ट

उच्चस्तरीय संयन्त्रको बैठकअघि सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच लामो छलफल भएको थियो।ओली निवास बालकोटमा भएको छलफलमा भागवण्डाको खाका बनेको थियो, जसलाई बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले अन्तिम रुप दिएको छ।

यो सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ।जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो, तर माओवादीले यो पद छाड्न अस्वीकार गरेको छ।

प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ ।

५ माघमा हुने सभामुखको निर्वाचनका लागि उम्मेदवारी दर्ता भोलि हुनेछ।एमाले उच्च स्रोतका अनुसार झापा २ बाट निर्वाचित देवराज घिमिरेको सम्भावना बढी छ।सभामुखका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव छविलाल विश्वकर्मा र सांसद विद्या भट्टराई पनि दावेदार हुन्।तर ओलीले घिमिरेलाई बनाउने संकेत गरेका छन् ।

सत्ता गठबन्धनको भागवण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ।उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ।रास्वपामा उपसभामुखको दावेदार सोभिता गौतम हुन् ।

एमालेलाई परराष्ट्र, रास्वपालाई शिक्षा

उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयहरुको भागवण्डा पनि टुंगो लगाएको छ।जसअनुसार एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३/३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ । जसपालाई २ मन्त्रालय छुट्याइएको छ ।

एमाले : अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी : भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा : गृह, शिक्षा र श्रम

राप्रपा : उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

एक नेताका अनुसार जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ।तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ।संयन्त्रको बैठकमा सहभागी जसपा अध्यक्ष यादवले पनि मन्त्रालय भागवण्डामा आफूहरुको असहमति रहेको बताउनुभयो।

यस्तै संघीय मामिला दिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने प्रयास पनि भइरहेको छ।त्यसो भएमा माओवादी केन्द्रले कानुन वा वनमध्ये एक लिने छ भने अर्को एमालेको भागमा पर्नेछ।

तीन राज्यमन्त्रीमा माओवादी, रास्वपा र राप्रपाले एकएक जना पठाउने छन्।

सरकार गठनदेखि नै साथ दिएको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा जाने छैन।सत्तारुढ दलका नेताहरु एक मन्त्री दिन तयार थिए, तर नागरिक उन्मुक्तिका नेताहरुले रेमशसहितका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता लगाएका माग पुरा नभएसम्म सरकारमा नजाने बताएका छन् ।