राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं,असार,१७-राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो ।

मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ ।

अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको थियो ।

आजबाट हुने आठौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनको सवै तयारी पूरा भएको र अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन् । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलनका लागि जाने पत्रकारहरुको एन्टिजेन परिक्षण गरिएको छ ।