क्यानडामा अत्यधिक गर्मीका कारण ६० जना बढीको मृत्यु

फाईल तस्विर !!

क्यानडा,असार,१६-अत्यधिक गर्मीका कारण क्यानडामा ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि अत्यधिक तापक्रम बढ्दा ६० बढी मानिसको मृत्यु भएको हो।

मृत्यु हुनेमा ज्येष्ठ नागरिक धेरै भएको समाचारमा जनाइएको छ।ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।

भ्यानकुभरको बाहिरीबस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले आफ्ना छिमेकी र परिवारका सदस्य एवम् ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न आम समुदायलाई आग्रह गरेका छन्। ‘यो मौसम हाम्रो समुदायका जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने हामीले देखिरहेका छौँ, खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन्’, उहाँले भन्नुभयो, ‘यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक छ।’

बर्नेबीमा मात्रै प्रहरीले ‘एक्कासि मृत्यु’ भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन्।

ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिश कोलम्बियाका प्यारामेडिकहरूले आइतवार तापक्रम बढ्दा समस्या भएको भन्दै सयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका बताएका थिए।

लीटनको सानो गाउँमा बस्ने मेघन फ्यान्डरिचले ती पत्रिकालाई जनाएअनुसार घरबाट बाहिर निस्किन ‘लगभग असम्भव’ भनेको थियो। उनले ‘सहनै नसकिने’ गरी तापक्रम बढेको बताउनुभयो । साभार अन्नपुर्णबाट