सचिव सरुवाबारे आयोगले मौनता तोड्यो

काठमाडौं,असार,१३
निर्वाचन आयोगले सचिव गोपीनाथ मैनालीको सरुवाबारे आफ्नो मौनता तोडेको छ ।

आयोगले सचिव मैनालीले मन्त्रिपरिषदबाट भएको सरुवालाई लिएर पदीय मर्यादा नाघेर निजामति प्रशासकको आचरण र मर्यादा विपरित गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताएको छ ।

दोस्रो चरणको चुनावी प्रक्रिया चलिरहेका बेला आयोगका सदस्य मैनालीको सरुवा भएको थियो । विलासी गाडी किन्न रोक्दा आफू सरुवा गरिएको मैनालीले बताएका छन् ।

तर, आयोगले मंगलबार विज्ञप्ति निकालेर सचिव मैनालीको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ ।

आयोगले सचिव मैनालीमाथि पहिलो चरणको चुनावका क्रममा नियतवस बाधा पुर्‍याएको तथा असहयोग गरेको आरोप लगाएको छ । मैनालीले अव्यवहारिक परामर्श, वारम्वार गैरजिम्मेवारपूर्ण र अनावश्यक दबाव र धम्की दिएको आयोगको आरोप छ ।

यसका बावजूद पनि मतपेटिका लगायत निर्वाचन सामाग्री व्यवस्थापन गरी एक करोड ६० लाख मतपत्र, एक करोड ४० लाख भन्दा बढी मतदाता नामावली र परिचय पत्र छाप्नुका साथै मतदान शिक्षा कार्यक्रम समयमै सम्पन्न गरेर पहिलो चरणको चुनाव स्वतन्त्र, निश्पक्ष रुपमा सम्पन्न गरिएको आयोगले बताएको छ ।

मैनालीले आयोग तथा पदाधिकारीको मानमर्दन हुने गरी हुँदै नभएको लान्छना लगाएको र जनतामा भ्रम फैलाएर निर्वाचनको निष्पक्षतामा आघात पुर्‍याएको आरोपको आरोप छ ।

उसले भनेको छ, ‘निजामती प्रशासनको आचरण र मर्यादा विपरित भ्रामक र आधारहीन प्रचारबाजी गर्दै गरेका आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यवसायिक तथा नौतिक अनुशासनभित्र राख्ने वातावरण सृजना गर्न आयोग सरकारसमक्ष आग्रह गर्दछ ।’