नेपालले यूएईलाई ३ विकेटले हरायो

काठमाडौं,असार,१६-आइसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको छ ।

जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा यूएईले जितका लागि दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।यो जितसँगै नेपालले सातौँ स्थानका लागि आययरल्यान्डसँगको भेट पक्का गरेको छ ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ७९ रनको अर्धशतकीय ईनिङ खेले।यूएईका मुहम्मद जवादुल्लाहले ३ तथा रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ५ बलमा अलआउट हुँदै१ सय ८१ रन बनाएको थियो।यूएईका वृत्य अरबिन्दले सर्वाधिक ४४ रन बनाए।यस्तै, रोहन मुस्ताफा ३५, बसिस हमिदले २९आर्यांश शर्माले २८, संचित शर्माले १२ तथा रमिज शाहजादले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ तथा प्रतिस जि.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।यो जितसँगै नेपालले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

पराजित यूएईले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।