यी युवायुवती जो चाहना हुँदाहुँदै भोट हाल्न जान सकेनन्

काठमाडौं,असार,१३-
महाकाली नगरपालिका ९, दार्चुलाकी मीरा डाँगा हिजोआज परीक्षाको तयारीमा छन्। विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाली विषयको चौथो सेमेस्टरको परीक्षाको तयारीमा रहेकी उनको परीक्षा अबको केही दिनमा सुरु हुँदैछ।

त्यसैले उनी असार १४ गते हुने स्थानीय तह निर्वाचनमा गाउँ जान पाइनन्। उनलाई चुनावमा सहभागिता जनाउने रहर थियो, मताधिकारको प्रयोग गर्ने रहर थियो। उनी भन्छिन्,चौथो सेमेष्टरको जाँच आइरहेको छ।

मताधिकारको प्रयोग गर्न त जानुपर्ने हो परीक्षाले मात्र मीरालाई रोकेको होइन। उनको निर्वाचन क्षेत्र टाढा भएर पनि उनलाई मतदानमा सहभागिता जनाउन सहज नभएको हो। मतदान गर्न उनको परिवारका चार जना यतै रहेको उनले बताइन्। गाउँकै नेताहरु उम्मेदवार हुँदा पनि जान नसक्नुको कारणबारे उनले भनिन्, सामान्य अवस्थामा पनि ३२ घण्टाजति लाग्छ।

यतिबेला पानी परेकोले पहिरो गएर बाटोघाटो अवरुद्ध हुने भएकोले जान सकिएन। विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि राजधानी आएका प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशका मतदाताहरु भोट हाल्नका लागि राजधानीबाट बाहिरिने क्रम जारी रहेको छ।

लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने रहर हुँदाहुँदै पनि विविध कारणवश जान नसक्नेहरु पनि उत्तिकै छन्। सुदूरपश्चिमका पहाडी जिल्ला जानका लागि काठमाडौंबाट एक दिन लाग्छ। वर्षातको बेला भने बाटाघाटा पहिरोले अवरुद्ध हुने भएकोले अझै बढी लाग्छ।

त्यस्तै परीक्षाको तयारीमा लाग्नुपर्ने भएकोले पनि जान नपाउने धेरै छन्। मीराले झैँ परीक्षाकै कारण चुनावमा सहभागिता जनाउन नपाउने मध्येका हुन् शैल्यशिखर नगरपालिका दार्चुलाका सन्तोष विष्ट। असार १९ गतेदेखि स्नातकोत्तर दोस्रो सेमेष्टरको चुनाव हुने भएकोले उनी मतदानमा सहभागी हुन नसक्ने भएका हुन्। उनी भन्छन्, चैत महिनामा हुनुपर्ने परीक्षा स्ववियु निर्वाचनका नाममा सारियो, त्यसपछि पहिलो चरणको स्थानीय चुनावले सर्‍यो अब आफ्नो ठाउँमा चुनाव हुँदैछ परीक्षाका आएकोले जान नपाइने भइयो।ु काठमाडौं विभिन्न पेशमा संलग्नहरु पनि मतदानमा सहभागिता जनाउनका लागि जान पाएनन्।

त्यस्तै मध्येका एक हुन् पत्रकार नरेन्द्र रौले। साप्ताहिकमा कार्यरत बुढीगंगा नगरपालिका ३, बाजुराका रौले विदा कम भएर घर जान नपाएका हुन्। उनी भन्छन्, सँगै काम गर्ने सहकर्मी पनि भोट हाल्न गएकोले एकैचोटी विदा बस्न मिलेन त्यसैले जान सकिएन। पत्रकार रौलेको जस्तै घर जान नपाउने व्यवसायी हुन् अपीहिमाल गाउँपालिका दार्चुलाका भोज कार्की।

काठमाडौं मलमा फेन्सी सामानको व्यापार गर्ने कार्की गाउँपालिका अध्यक्षका उम्मेदवार भगतसिंह ठेकरे बोहराले बारम्बार फोन गर्दा पनि जान सकेनन्। घर जान नसक्नुको कारण बारे उनले भने, पसलमा स्टाफ कम छन्, व्यापार गर्नुपर्ने भयो। अर्को यताबाट घर पुग्न तीनदिन लाग्छ। खर्चिलो पनि हुन्छ। जान आउन मात्रै कम्तीमा २० हजार लाग्छ।

उनले उम्मेदवारलाई घरका मान्छेलाई उनकै पक्षमा मतदान गर्न आग्रह गरिदिने भन्दै सम्झाएको बताए। टाढा भएकै कारणले लोक गायिका पुष्पा बोहरा पनि मतदानमा सहभागिता जनाउन गइनन्। अपीहिमाल गाउँपालिका दार्चुलाकी बोहराले भनिन्, गाउँ जान आउन टाढा छ, बर्खाको बाटो भेलबाढी पहिरो जाने भएकोले गइएन।

त्यस्तै अछामका हिमाल भट्ट पनि घर गएनन्। काठमाडौं कीर्तिपुरमा बस्ने भट्टले घर जान टाढा भएको र बाढी पहिरोले कतिबेला बाटो अवरुद्ध गर्ला भन्ने डरले नगएको उनले बताए। देशका विभिन्न ठाउँमा रहेका मतदातालाई निर्वाचनमा सहभागिता जनाउन पाउनुपर्ने भनाइ छ पत्रकार टंक पन्तको। पाटन नगरपालिका वडा नम्बर १० बैतडीका पन्त काठमाडौंमा व्यस्त हुनुपर्ने भएकोले चुनावमा सहभागी हुन नसकेका हुन्। उनी भन्छन्, कार्यव्यस्तताले गर्दा जान सकिएन। निर्वाचन आयोगले काठमाडौंबाट मतदान गर्ने व्यवस्था गर्नुपर्थ्यो, त्यसो गरेको भए धेरै मतदाताले मताधिकारको प्रयोग गर्न सक्थे।

नेपाल ल क्याम्पसमा अध्ययनरत डोटीको जोरायल गाउँपालिकाका गोरख बोहरालाई भने कुनैपनि उम्मेदवारले तान्न सकेनन्। उम्मेदवारहरुले बस टिकट दिन्छु भन्दा पनि नगएको बताउदै उनले भने, समाजका लागि काम गर्ने मान्छेले कुनैपनि पार्टीबाट टिकट पाएन, सबै उस्तै उस्तै उम्मेदवार उठे। उनीहरुले खिच्न सकेनन्।