ईतीहासमै एमाले ठुलो पार्टी बन्दै : राष्ट्रिय पार्टीको मान्यता ६ दललाई

दोस्रो ठुलो दलका लागी काँग्रेस र माओवादीमा समानुपातीक मतले निर्धारण गर्ने

काठमाडौं, मंसिर,२५-

यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ । च्याउसरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् ।

यसरी राष्ट्रिय दलको मान्यता पाउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी हुने भएका हुन् ।

राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्ने भएकाले यी ६ दलले मात्र कानुनी प्रावधान पूरा गर्ने देखिएको छ ।

दुई राप्रपामध्ये हलो चुनाव चिह्न रहेको राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षमा एउटा पनि सिट जित्न नसकेकाले समानुपातिकमा तीन प्रतिशत मत ल्याएपनि राष्ट्रिय पार्टी बन्ने सम्भावना सकिएको छ ।

गाई चुनाव चिह्न रहेको राप्रपाले भने प्रत्यक्षमा एक सिट पनि जितेको र समानुपातिकमा पनि तीन प्रतिशत कटाउनसक्ने भएकाले यो दल राष्ट्रिय दल बन्ने सम्भावना रहेको छ ।

लामो समयदेखि राजनीति गरिरहेका पुराना पार्टी मानिने नेमकिपा, राष्ट्रिय जनमोर्चा एवं पोहोरमात्र गठित नयाँ शक्ति पार्टीले प्रत्यक्षमा एक/एक सिट जितेको भएपनि तीन प्रतिशत मत कटाउने सम्भावना कम देखिएको छ । त्यसैले ती दलले प्रत्यक्षमा जितेर पनि राष्ट्रिय दल बन्ने सम्भावना कम रहेको छ ।

सँगसँगै यस निर्वाचनले ठूला दलहरुको हैसियतमा पनि फेरबदल गरिदिएको छ । प्रजातान्त्रिक आन्दोलनको पर्याय बनेको र पटक–पटक पहिलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस इतिहासमै कमजोर देखिँदै तेस्रो दलको हैसियतमा खुम्चिने सम्भावनामा पुगेको छ । प्रत्यक्षमा काँग्रेस तेस्रो नै बनेकै छ ।

सम्पूर्ण परिणाममा उसको दोस्रो वा तेस्रो के हैसियत हुने भन्नेचाहिँ समानुपातिकको परिणामले निर्क्योल गर्नेछ । अबको संसदमा हालको दोस्रो दल नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दल हुनेछ । अहिले सम्म ठुलो पार्टी बन्न नसकेको एमाले इतिहासमै पहिलोपटक यो हैसियतमा देखिन लागेको हो ।

प्रत्यक्षमा दोस्रो स्थान पाएको नेकपा माओवादी केन्द्र भने दोस्रोमै टिक्नेछ वा तेस्रोमा पुग्नेछ भन्नेचाहिँ समानुपातिकमा उसले पाउने मतले निर्धारण गर्नेछ ।ईमेज खबरबाट साभार ।।