सुशासनका लागि लडिरहेको छु, नजिक टाढाका भनेर छाड्दिनँ: प्रधानमन्त्री

काठमाण्डौं,फागुन,८-प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने बताउनुभएको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएको बताउनुभयो ।

‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, 

सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी  एजेन्टसँग कमिसन मागेको भन्दै अडिओ टेप सार्वजनिक भएको केही घन्टापछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

मन्त्री बाँस्कोटासँग प्रधानमन्त्री ओलीको निकट सम्बन्ध छ। केही दिनअघिमात्र उहाँले  प्रतिभावान् भन्दै बाँस्कोटाको तारिफ गर्नुभएको थियो । मन्त्री बाँस्कोटाले उक्त कम्पनीसँग कमिसन मागेको अडिओ सार्वजनिक भएपछि उनले राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने माग  नेकपाभित्र र बाहिरबाट उठिरहेको छ।अडिओ प्रकरणबारे बुझ्न प्रधानमन्त्रीले बाँस्कोटालाई बालुवाटारमा बोलाउनु भएको छ । सेतोपाटीबाट