पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति

बलात्कार मुद्दामा पाए सफाइ

काठमाडौं,भाद्र,२२-अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन्।

जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन्।

बलात्कार आरोपबाट सफाइ पाए पनि पललाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार जरिवाना फैसला भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो।उहाका अनुसार पलले पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला भएको छ। 

पल शाहले बलात्कार अभियोगबाट सफाइ पाएका छन्। उनको मुद्दा बाल यौन दुरूपयोगमा झरेको छ,’ पौड्यालले भने, ‘बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय फैसला भएको छ।’

जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ।

जिल्ला अदालत नवलपुरमा मंगलबार पीडित नाबालिगका तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए भने पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका थिए। 

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए। 

प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उक्त आदेशविरूद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए। बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् भने उनका बुवाले पनि छोरीले दिएकै बयान ठिक भएको बताएका थिए।सेतोपाटीबाट