क्रिकेटर सन्दीप लामिछानेविरूद्ध नाबालिका बलात्कारको उजुरी आएको प्रहरीको भनाइ

सन्दीप लामिछानेकाठमाडौं,भाद्र,२२-राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गर्नुभयो ।

सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण आज बुधबार भन्ने बताउनुभयो। मंगलवार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको धानुकले बताउनुभयो ।

हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गर्नुभयो।

काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताउनुभयो। उहाँका अनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।

त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताउनुभयो। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उहाँले जानकारी दिनुभयो।

लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए।केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए। उनको अनुपस्थितिमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए।सभार सेतोपाटीबाट