नागरिकता अध्यादेशबिरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाई जेठ २७ हुने

काठमाडौं,जेठ,२१-सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो । आउँदो बिहीबार जेठ २७ मा फेरि सुनुवाई गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको हो ।

अध्यादेशबिरुद्ध परेका ६ वटा रिटमा शुक्रवार तीन जना निवेदकका तर्फबाट मात्र बहस भएको छ ।

यसअघि,नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठ न्यायाधीशहरू रहेको संवैधानिक इजलाश गठन गर्नुभएको थियो ।

इजलाशमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ।

नागरिकता अध्यादेशविरुद्ध अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाहीलगायत ६ जनाले रिट निवेदन दिनुभएको हो ।

रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।