
टोकियो,असोज,९-नागोयामा जारी एसियन गेम्समा सहभागी हुन जापान आउनु भएका नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दसँग जापानमा रहेका विभिन्न १५ वटा संघ-संस्थाका प्रतिनिधिद्धारा टोकियोमा शुक्रबार आयोजित अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ओकुबोस्थिच सोलमारी रेष्टुरेण्टको मुरा हल,शिन्जुकुमा आयोजित कार्यक्रममा जापानमा नेपाली भलिबलको अवस्था, खेलाडीका समस्या, संघ–संस्थाबीचको सहकार्य तथा जापानस्थित नेपाल भलिबल संघको शाखालाई सक्रिय बनाउने विषयमा छलफल भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले पछिल्लो समय नेपाली महिला भलिबल टोलीको स्तरमा निरन्तर सुधार हुँदै गएको बताउँदै त्यसकै परिणामस्वरूप एसियन गेम्समा छनोट हुन सफल भएको उल्लेख गर्नुभयो।

उहाँले जापानमा रहेको नेपाल भलिबल संघको शाखालाई थप सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो।जापानमा भलिबल संघको गतिविधि निष्क्रिय रहनु दुःखद भएको उल्लेख गर्दै शाखालाई व्यवस्थित र सक्रिय रूपमा अघि बढाउन सके जापानमा नेपाली भलिबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

अध्यक्ष चन्दले जापानमा भलिबल प्रतियोगिता तथा गतिविधि सञ्चालनका क्रममा देखिने समस्या समाधानका लागि आपसी सहकार्य, समन्वय र सहमति आवश्यक रहेको बताउनुभयो। खेलाडी तथा आयोजकहरूबीच अनुशासन र नियमित सम्पर्क कायम राख्न सके धेरै समस्या समाधान गर्न सकिने उहाँले बताउनुभयो।

जापानस्थित भलिबल शाखाले नेपाल भलिबल संघको केन्द्रीय संरचनासँग निरन्तर सम्पर्क र समन्वयमा रहेर संघको विधि–विधानअनुसार काम गर्नुपर्नेमा पनि अध्यक्ष चन्दले जोड दिनुभयो।
विदेशमा खेलाडी बोलाउँदा सम्बन्धित संघसँग समन्वय नगर्ने तथा खेलाडीहरू अवसरको खोजीमा विदेश पलायन हुने प्रवृत्तिबारे पनि उहाँले धारणा राख्नुभयो।विदेशमा खेलाडी बोलाउँदा संघको नीति तथा नियमअनुसार प्रक्रिया अघि बढाउन सके यस्ता समस्या न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो।

अध्यक्ष चन्दले जापानमा रहेका नेपाली भलिबलप्रेमी तथा विभिन्न संघ–संस्थासँगको भेटघाटले आफूलाई थप जिम्मेवारीबोध गराएको बताउँदै नेपाली भलिबलको विकास र सुधारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा जापानमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि तथा भलिबलसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा सहभागीहरूले नेपाली भलिबलको विकास, जापानमा खेलाडी तथा प्रतियोगिता व्यवस्थापन र संघीय समन्वयलगायतका विषयमा अध्यक्ष चन्दसमक्ष प्रश्न तथा सुझाव राखेका थिए।




