मन्त्रिपरिषद् विस्तार, को को बने नयाँ मन्त्री (हेर्नुहोस्)

काठमाडौं,माघ,३-प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले १९ मन्त्री र ३ राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ।प्रधानमन्त्री दाहालले विस्तार गरेको मन्त्रिपरिषद्मा २३ मध्ये १५ जना नयाँ अनुहार भित्रिएका छन्।मन्त्रीमा नयाँ अनुहार मात्र हैन यस पटक केही मन्त्रालयमा विषय विज्ञता अनुसार मन्त्रीनियुक्त भएका छन्।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने सात मध्ये ५ दलमात्र सरकारमा सहभागी भएका छन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीको भागमा प्रधानमन्त्रीसहित ५ वटा परेको छ।राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपाले ३/३ वटा मन्त्रालय र जनमत पार्टीले एउटा मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको छ।एमाले, रास्वपा र राप्रपाले १/१ वटा राज्यमन्त्री पनि पाएका छन् ।

मन्त्रालय हाँक्न यस पटकको मन्त्रिपरिषद्मा नयाँ अनुहारको वर्चश्व देखिएको छ।राजनीतिमा भर्खर उदाएका दल मात्र नभई पुराना दलले पनि अधिकाशं नयाँ सासंदलाई मन्त्री बनाएका छन् । जसले पुराना र एउटै व्यक्ति मात्र मन्त्रीमा दोहोरिने परम्पराको अन्त्य भएको छ । नेकपा एमाले जिम्मेवारी पाएको ८ वटा मन्त्रालयमध्ये अर्थ मन्त्री विष्णु पौडेलबाहेक सबैले पहिलो पटक मन्त्रालयको बागडोरमा पुगेका छन् ।

एमालेले राष्ट्रिय सभा सदस्य डा. विमला पौडेल राईलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएको छ । यस्तै, एमालेले हरि उप्रेतीलाई रक्षा मन्त्रलय, पदम गिरिलाई स्वास्थ्य, ज्वालाकुमारी साहलाई कृषि, दामोदर भण्डारी उद्योग, राजेन्द्र राई भूमि र भगवती चौधरीलाई महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर दिएको छ ।

यस्तै, माओवादी केन्द्रले पाएको ४ मध्ये २ मन्त्रालयमा नयाँ सांसदलाई मन्त्री र राज्यमन्त्री नियुक्त गरेको छ । माओवादी केन्द्रले पहिलो पटक संसद बनेका सुधन किराँतीलाई पर्यटन मन्त्री र अमनलाल मोदीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ । माओवादीले सुशीला श्रीपालीलाई पर्यटन राज्यमन्त्रीमा नियुक्त गरेको छ ।

यसैगरि राप्रपाका राजेन्द्र लिङदेन पनि मन्त्रालय सम्हाल्ने नयाँ अनुहारामा पुर्नहुन्छ । यसअघि सांसद भएपनि अध्यक्ष लिङ्देनले पहिलो पटक उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न पुग्नुभएको छ । राप्रपाबाटै दिपक सिंह बोहोरालाई उर्जा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । राप्रपाबाट पहिलो पटक सासंद बनेका ध्रुब प्रधानलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेपाली राजनीतिमा भर्खरै मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ३ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ । सो पार्टीबाट मन्त्री भएकाहरु विषयको विज्ञ पनि छन् । शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्याल तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की नियक्त हुनुभएको छ । शिक्षा मन्त्री खनाल लामो समयदेखि शिक्षा क्षेत्रमै कार्यरत हुनुहुन्छ । खनाल टीच फर नेपालका संस्थापक हुनुहुन्छ भने नेपालमा पहिलो पटक टीच फर नेपाल भित्र्याउने मन्त्री खनाल नै हुन् । यस्तै, श्रम मन्त्रीमा नियुक्त अर्याल रेमिटयान्स व्यवसायी हुन् । अर्यालसँग जापानमा बसेर श्रम तथा रोजगार क्षेत्रमा काम गरेको अनुभव समेत छ । यस्तै स्वास्थ्य राज्य मन्त्रीमा नियुक्त भएकी डा कार्कीसँग स्वास्थ्य क्षेत्रको राम्रै अनुभव छ ।

यता, मुलधारको राजनीतिमा भखरै मात्र आएको सिके राउत नेतृत्वको जनमत पार्टीबाट पनि अब्दुल खानलाई खानेपानी मन्त्री नियुक्त गरिएको छ । गत निर्वाचनले जनताले परिवर्तनका लागि नयाँ अनुहार चाहेको स्पष्ट पारिसकेको छ । केही गर्ने हुटहुटी बोकेर सरकारमा समले भएका नयाँ अनुहार र पुराना राजनीतिक दलबाट आएका नयाँ अनुहारलाई अब पनि विभिन्न बहाना र बिचौलियाको चंगुलमा फसेर पछि हट्ने सुविधा छैन ।ईमेजखबरबाट