इन्द्र कार्की
महेन्द्रनगर,असार,२०
परिचय
वर्षातको समयमा विभिन्न किटजन्य, पानीजन्य लगायतका विभिन्न प्रकारका रोगहरुमा बढोत्तरी हुन्छ । खास गरी वर्षातको समयमा देखिने किटजन्य रोगहरुवाट केहि सावधानी अपनाएमा धेरै हद सम्म सुरक्षित हुन सकिन्छ । किटजन्य रोगहरु मध्येको एक औलो (मलेरिया) एक सरुवा रोग हो । यो रोग संक्रमित लामखुट्टेको टोकाइ बाट एक मान्छे वाट अर्को मान्छेमा सर्छ । हाल नेपालमा यो रोगका परजीविहरु दुई थरिका पाइएका छन् ।
१. प्लाज्मोडियम फाल्सिफेरम
२. प्लाज्मोडियम भाइभेक्स
यि मध्ये प्लाज्मोडियम फाल्सिफेरम जातको औलो परजीवि बढी घातक हुन्छ । औलोबाट मृत्यु हुने प्रमुख कारण पनि यहि रहेको पाइन्छ ।
रोग सर्ने तरिका
¤ एनोफिलिज जातको संक्रमित पोथि लामखुट्टेको र्यालसँगै औलोको परजीवीहरु रगतको प्रवाहमा प्रवाहित भई सर्छ । अतः लामखुटटेको टोकाइबाट बच्नु, बचाउनु सर्वोत्तम उपाय हो ।
औलो रोगका लक्षणहरु
१.औलोको मुख्य लक्षण ज्वरो आउनु हो । ज्वरोमा प्राय जाडो, ज्वरो र पसिना आउने गरी तीन अवस्थाहरु हुन्छन् ।
२.ज्वरो केहि समय विराई वा नियमित आउनु ।
३.एनिमिया (रक्तअल्पता) शरीरमा रगतको कमी भई फुस्रो देखिनु
४.लामो समयसम्म औलोले ग्रसित पारेमा फियो बढनु र धेरै समयसम्म उपचार नगरेमा फियोको आकार निकै वृद्धि हुनु ।
५. औलोवाट हुने मस्तिष्क ज्वरोमा विरामीको मस्तिष्क कार्य प्रणालीमा असर भई टाउको दुख्ने , वान्ता हुने भई वेहोस हुने र समयमा उपचार नपाएमा मृत्यु हुने गर्छ ।
औलो रोगवाट वच्ने उपायहरु
१.लामखुट्टेको टोकाइ वाट वच्ने
२.सुत्दा झुलको प्रयोग गर्ने
३.घरको झयाल ढोकामा जाली को प्रयोग गर्ने
४.लामखुट्टे भगाउने धुपको प्रयोग गर्ने
५.घर वाहिर वा लामखुट्टे लाग्ने ठाउँमा काम गर्नु परेमा पुरा बहुला भएको लुगा लगाउने तथा लामखुट्टे भगाउने मलहम लगाउने
लामखुट्टे नास गर्नु
लामखुटटेको नियन्त्रण गरेर व्यक्ति वा समुदाय औलो वाट बच्न सक्छन् । वेला वेलामा कीटनाशक विषादि छर्कन आउने टोलीलाई पुर्ण मद्धत दिई आ–आफनो घर गोठमा कीटनाशक विषादि छर्कन लगाउनु पर्छ । कीटनाशकको असरले लामखुट्टेहरु ३ देखि ६ महिना सम्म पनि मर्ने गर्छन । यसरी किटनाशक छर्केको भित्तामा कम्तीमा ३ महिना सम्म लिपपोत गर्नु हुदैन ।
लामखुट्टे हुर्कने ठाउँ कम गर्ने
घर आगँन वरपरका रहेका खाल्डाखुल्डीहरुलाई पुरी पानी जम्न नदिने ।
घर तथा पोखरी छेउछाउको झाडी, घाँसलाई राम्ररी सफा गरी दिने ।
नहर कुुलो पानी वगेको ठाँउ छ भने त्यहाँ पानी जम्न नदिने र जमेको पानीलाई बगाईदिने गर्नु पर्छ ।
पानीको आवश्यक नपर्ने ठाँउमा पानी सोस्ने खालका रुखहरु पानीको सतह वरपर रोप्नु पर्छ ।
लामखुट्टेको वच्चा विनास गर्नु (लार्भा मार्नु)
लामखुट्टेले खास गरी जमेको पानीमा फुल पार्ने र प्रजनन् गर्ने भएकोले पानी जम्ने खाल्डो, टिनका बटटा, टायर आदिहरुमा पानी जम्न दिनु हुदैन ।
पोखरी,दह तथा नालाहरुमा लामखुट्टेको लार्भा खाने माछा पाल्न गरी लामखुट्टेको संख्यामा कमि ल्याउन सकिन्छ ।
परजीवी नास गर्ने
औलो रोगलाई लामखुट्टेले टोकेपछि मानिसमा रहेका परजीविलाई त्यसको अर्को स्वस्थ मानिसमा सार्दा उसलाई टोकेको केहि दिन पछि ज्वरो आउन सक्छ । तसर्थ मानिसको शरीरमा रहेको परजीवी नास गर्नु अत्यन्त आवश्यक छ । अतः ज्वरो आउनासाथ तुरुन्तै जाँच गराई औलो रोग रहेछ भने पुर्ण मात्रामा औषधि उपचार गराइहाल्नु पर्छ ।
औलोको शंका लागेमा सम्पर्क गर्ने स्थान
औलोको शंका लागेमा अविलम्व नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मि कहाँ बिरामी स्वयं गई औलो परीक्षणको लागि रगत दिने र निःशुल्क औषधि प्राप्त गरी स्वास्थ्य कार्यकर्ताको सल्लाह बमोजिम औलोको औषधि सेवन गर्ने ।
औलो नियन्त्रणमा परिवारको दायित्व
औलो ग्रसित क्षेत्र वा ती क्षेत्रबाट आएका आफना परिवारका कुनै सदस्यलाई ज्वरो आएमा औलो ज्वरोको शंका गरी अविलम्व नजिकको स्वास्थ्य संस्थामा लगी स्वास्थ्य जाँच गराऔँ र दिइएका औषधिहरु स्वास्थयकर्मिको सल्लाह अनुसार नियमित रुपमापुर्ण मात्रामा खुवाऔँ । औलो महामारीका रुपमा पुरा गाउँ ,शहर र समुदायमा नै फैल्न सक्छ र धेरै मान्छेलाई विरामी पार्ने मात्रै होइन, अपाङ्गता र ज्यान समेत लिने हुदाँ यसमा प्रत्येक व्यक्तिको समान रुपले जिम्मेवारी छ । तसर्थ रोगको नियन्त्रणप्रति सबैको सहयोग र सहभागिताको अत्यन्तै महत्व छ ।