
काठमाडौं,असार,१५-नेपालले एएफसी एसियन कप छनोटमा सानदार विजयी सुरुआत गरेको छ।
आईतवार उज्वेकिस्तानको तास्केन्तमा भएको समूहको आफ्नो समूहचरणको पहिलो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको हो।नेपालको यो १००औं अन्तर्राष्ट्रिय खेल हो।
नेपालको यो शतकीय खेललाई अविष्यमरणीय बनाउन सावित्रा भण्डारी साम्बाले ५ गोल गरिन्।बाँकि गोल अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक गोल थपेकी हुन्।
खेलको १२औं मिनेटमै नेपालले अनिताको गोलमार्फत सुरुआती अग्रता लियो। साम्बाले हेडरमार्फत दिएको बललाई उनले हलुका चेस्टिङ गर्दै जाली चुमाइन्।
नेपालले पहिलो हाफ सकिन केही समय अघि अग्रता दोब्बर बनायो। अनिताको उत्कृष्ट क्रसलाई यही खेलमा कप्तानी जिम्मेवारी पाएकी साम्बाले हेडरमार्फत गोल गरिन्।पहिलो हाफ सामान्य प्रदर्शन गरेको नेपाल दोस्रो हाफमा आक्रामक देखियो।

दोस्रो हाफको सुरुआती दुई मिनेटमै नेपालले तेस्रो गोल थप्यो। सबिता रानामगरले बक्सभित्रबाट दिएको कट पास बललाई सरुले पहिलो टचमै जाली चुमाइन्। उनको यो ५०औं अन्तर्राष्ट्रिय गोल हो।
५५औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लाओसकी किपरले क्लियर गर्न खोजेको बल साम्बाको खुट्टामै पुगेको थियो। उनले उक्त बललाई जाली चुमाइन्। योसँगै उनले ६०औं अन्तर्राष्ट्रिय गोल पूरा गरेकी छन्।
त्यसको एक मिनेटपछि नै रश्मीले अर्को गोल थपिन्। योसँगै नेपालले ५–० को फराकिलो अग्रता लियो। त्यसको केही मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। नेपालले त्यसपछि तीन गोल थप्यो।साम्बा र वैकल्पिक खेलाडी केसीले समान एक गोल थपिन्। एक गोल भने नेपालले उपहार पाएको थियो।
नेपालले सानदार जितसहित ३ अंक जोडेको छ।यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ ।