लाओसलाई १-० हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

काठमाडौं,असोज,३०-लाओसलाई १-० गोलले हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले जितेको हो। 

दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो। 

नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो। उनले अञ्जन विष्टको पासमा ५३ मिनेटमा गोल गरेका थिए। 

यससँगै नेपाल समग्रमा २-१ ले अघि रहदै दोस्रो चरणमा पुग्यो। गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए। 

 
अब दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा हुनेछ।