बडादशैँको आज दोस्रो दिन : ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं,असोज,१३-

बडादशैंको दोस्रो  दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ ।बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्मचारिणी भगवतीको पूजा गर्ने प्रचलन रहेको छ ।घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ ।

नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।दसैंको दोस्रो दिन आज देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

राजधानी काठमाडौंमा रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा सोमबार बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

उपत्यकाबाहिर सुनसरीको धरानस्थित दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यवासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लागेको छ । नेपालीहरुको महान चाड बडादशैँ पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।