उदाउँदो सूर्यलाई अर्घ दिंदै आजदेखि छठ पर्व समापन

काठमाडौं, कात्तिक १०-

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको समापन गरिएको छ । मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर समापन गरिएको हो ।छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै षष्ठी माताको पूजा गरी धुमधामका साथ मनाइयो ।

त्यसपछि पनि भक्तजनहरु रातभर जाग्राम बसी पूजा आराधना गर्दै आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर आ–आफ्ना घर फर्किएका हुन् ।छठको तेस्रो तथा मूख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिन श्रद्धालु भक्तजनहरु नदी, तलाउ, पोखरीमा भेला भएका थिए ।

तराईसहित देशका विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा भएका भक्तजनले श्रद्धापूर्वक सूर्य र षष्ठी माताको उपासना गर्दै पूजा गरे ।

जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुको घुईंचो लागेको थियो ।

वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझमका साथ यो पर्व मनाइयो । नवलपरासीमा पनि उसैगरी धुमधामसँग मनाईयो ।
परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजा गरिएको छ ।

सप्तरीको कोशी ब्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईदै छ ।

कोशी ब्यारेजमा भारतको पूर्णिया, फारबीसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन ब्रतालु ओइरिएका छन् । विराटनगरमा पनि विभिन्न नदी, तलाउ, पोखरीमा भेला भएर यो पूर्व मनाइयो ।

झापाको मेची नदी किनारमा नेपाल भारत दुबै देशका श्रद्धालु भेला भएर पूजा आराधना गरेका थिए । यता, सिन्धुली जिल्लाका केही स्थानमा छठ मधेशी र पहाडिया समुदाय एकापसमा मिलेर मनाएका छन् ।