एक वर्षमा विद्युत् नाफा कमाउने अवस्थामा र्पुयाउछु : घिसिङ

काठमाण्डौं,माघ १७-लोडसेडिङ हटाएर नेपालीहरुको हिरो बनेका विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले अबको एक वर्षमा विद्युत् प्राधिकरणलाई नाफा कमाउने अवस्थामा र्पुयाउने बताएका छन् । पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यही हिसाबले अहिले काम भइरहेको जानकारी दिँदै उनले प्राधिकरणको अहिलेको वार्षिक १२ अर्ब रुपैयाँको घाटा र कुल ३७ अर्बको घाटालाई शून्यमा झारेर यसलाई अझ नाफामा र्पुयाउने लक्ष्यका साथ काम अगाडि बढिरहेको बताए । त्यसै क्रममा पहिले विद्युत् चुहावट नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएको घिसिङले बताए ।

अहिले पिक समयमा भारतबाट तीन सय ४० मेगावाट बिजुली आयात भइरहेकोमा बिस्तारै आयात न्यून गराउँदै जाने पनि उनले बताए । तर, कम मूल्यमा आयात भइरहेको अवस्थामा ठूलो लगानी गरेर तत्काल विद्युत् उत्पादन गर्न्तिर एकैचोटि जान नसकिने उनले उल्लेख गरे ।