लागूऔषध सेबनबाट एक किशोरीको मृत्यु

कैलाली,माघ १७-कैलालीकी एक किशोरीको लागूऔषध ब्राउन सुगर सेबनबाट मृत्यु भएको छ । अन्दाजी १७–१८ वर्षकी सलोनी श्रेष्ठ (खनाल)को ब्राउन सुगर सेवनबाट मृत्यु भएको हो । यही माघ १५ गते उनीसहित चार जना साथीहरुको समूह कैलालीको खानीडाँडामा बास बसेका थिए । त्यहाँ सलोनीसहित चारैजनाले ब्राउन सुगर सेबन गरेका थिए ।

‘ओभर डोज’का कारण श्रेष्ठले रातिदेखि नै उल्टी गर्न थालेको र उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । सँगै गएकाहरु समेत नशामा रहेका कारण सलोनीलाई उपचारका लागि ल्याउन ढीला भएको थियो ।

अर्को दिन साँझ उपचारका लागि धनगढी ल्याउदै गर्दा श्रेष्ठको बाटोमै नै मृत्यु भएको प्रहरीको भनाइ छ । कैलाली घर भएकी उनी काठमाडौंमा पढ्दै आएकी थिइन् । तर, उनी पहिलादेखि नै कुलतमा फसेको र पढाईसमेत छोडेको पत्ता लागेको प्रहरी उपरीक्षक चन्दले बताए ।