मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट शक्ति सर्वाधिक लोकप्रिय : नेकपाका अध्यक्षद्वयको भनाई

काठमाडौं,जेठ,३-नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा मदन भण्डारीको विचारले नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

स्व: मदन भण्डारी

आज जेठ ३ गते २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले ३ पेज लामो संयुक्त विज्ञप्ती जारी गर्दै मदन भण्डारीलाई यसरी चित्रित गरेका हुन्। एमाले र माओवादी एक भएर नेकपा बनेपछि मदन भण्डारीको विचारलाई यसरी महत्व दिइएको संभवतः यो पहिलो पटक हो।

जननेता मदन भण्डारी पूर्व एमालेका महासचिव थिए, जसले ‘जनताको बहुदलीय जनवाद’ विचार मार्फत नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक धारमा बदल्न महत्वपूर्ण योगदान दिएका थिए। एमाले र माओवादी एकतापछि नेकपाले ‘जनताको जनवाद’ लाई आफ्नो राजनीतिक विचार मान्दै आएको छ, जुन लोकतान्त्रिक धारबाट हिंड्ने ‘बहुदलीय जनवाद’ कै नजिक मानिन्छ।

२७ वर्षअघि दासढुंगामा भएको जीप दूर्घटनामा नेपाली यी यी दुई लोकप्रिय नेताहरूकोे मृत्यु भएको थियो, जुन घटनालाई आज पनि ‘रहस्यमय’ रुपमा नै लिइन्छ।

‘लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताहरूलाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थिति अनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रबादका आधारमा राष्ट्रिय हीतको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक संघर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘सिर्जनात्मक सोच, राष्ट्र र जनताप्रतिको अविचलित निष्ठा, सादा जीवन र प्रभावशाली वक्तृत्वकलाका कारण जननेता मदन भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रुपमा स्थापित हुनुभएको थियो।’

पछिल्लो समय पार्टीमा बढिरहेको विवादकाबीच अध्यक्षद्वय ओली र प्रचण्डले ‘पार्टी एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्न केन्द्रित गर्ने’ जनाएका छन्।

‘मुलुकको मुहार बदल्न प्राप्त यस ऐतिहासिक एवं दूर्लभ अवसरलाई जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि सफल पार्न पार्टी दुढ संकल्पित छ’, वक्तव्यमा भनिएको छ। नेपालखबरबाट