देश निर्माणमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ,भदौ, ४-

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।

‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा जोड दिनुभयो ।

एक प्रसङ्गमा उहाँले “नेपालमा मिडिया धेरै भएकाे र आर्थिक रुपमा कमजोर रहेकाे बताउनु भयाे । उहाँले पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको बताउनु भएकाे छ ।”

अभिव्यक्ति र पूर्ण प्रेस स्वतन्त्रताको हक संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्रै सबै निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आमसञ्चार नीति र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतासँगसँगै मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।