संशोधनमाथिको बृहत् छलफल आज हुँदै

मतदान प्रक्रिया भने भोलि हुने

काठमाडौं,भदौं,४-

व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल हुने भएको छ । दिउँसो १ बजे सुरु हुने बैठकमा गत बुधबार प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल हुने भएको हो ।

संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसक्नु भएको छ भने अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । संशोधनकर्ता सांसदसँगै अन्य इच्छुक सांसदले समेत बोल्न समय पाउने भएकाले संशोधन प्रस्तावमाथि मतदान भने भोलि हुने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताउनुभयो । उहाँका अनुसार संशोधन प्रस्तावमाथि संशोधन दर्ता गराउनेले बोल्ने क्रम भोलीसम्म जारी रहनेछ ।

प्रमुख प्रतिपक्षी दल एमाले संशोधन प्रस्तावलाई संसद्बाट प्रक्रियागत रूपमा टुंगो लगाउन सकारात्मक भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो । संविधान संशोधनको माग गर्दै आएको मधेसकेन्द्रित दल राजपासमेत प्रस्ताव पास वा फेल जे भए पनि संसदीय प्रक्रियाबाट टुंगो लगाउन राजी भएको छ ।

सत्तारुढमा दुईतिहाइको आस, तर पुग्न कठिन
सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र तथा राजपाले संविधान संशोधनमा अझै पनि दुईतिहाइ मत पुग्ने विश्वास मारिसकेका छैनन् । संसद्मा कायम भएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ ।

एमाले, नेकपा मालेसहितका साना दल संविधान संशोधनका विपक्षमा छन् । तर, सत्तारुढ दल कमल थापा नेतृत्वको राप्रपासहितका साना दललाई मनाउने प्रयासमा छन् । राप्रपालाई ल्याउन सके संशोधनका लागि सात मत मात्र आवश्यक पर्छ । यस्तोमा केही साना दललाई विश्वासमा लिने पक्षमा सत्तारुढ दल छन् ।

यता पार्टी विभाजनपछि कमल थापा नेतृत्वको राप्रपाले खुलेर पक्ष वा विपक्षको औपचारिक निर्णय नगरेपछि सत्तारुढ दल आशावादी देखिएका हुन् । थापाकै आग्रहअनुसार संशोधनमा ५ भदौमा भोटिङ गर्ने तयारी गरेको राजपा नेता केशव झाले जानकारी दिनुभयो ।