नेपाली फुटबल टोलीको जापानमा विजोग, लगातार तेस्रो हार

काठमाडौं, भदौ,३-

जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ ।भ्रमणको पाँचौ खेलमा नेपाली टोली  आज शनिबार भिसेल कोबेको १८ वर्ष मुनीको टोलीसँग ४-२ को हार बेहोरेको हो ।

नेपालका लागि बिमल घर्ती मगर र भरत खवासले गोल गरेका थिए । यसअघि नेपाल जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५-० ले तथा हनाम विश्वविद्यालयको टोलीसँग ६-० ले पराजित भएको थियो ।

एसिया कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा भने गाम्बा ओसाका २३ वर्ष मुनीको टोलीसँग १-१ को बराबरी खेल्दा क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २-१ ले हराएको थियो ।

नेपालले ताजकिस्तानविरुद्ध भदौ २० गते घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । गत चैतमा फिलिपिन्ससँग ४-१ ले पराजित भएको नेपालले जेठमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।