नेता नेपाल उत्तर कोरियाको भ्रमण सकेर स्वदेश फिर्ता

किम जोङ उनलाई युद्धमा भन्दा वार्ता र संवादमा जोड दिन आग्रह गरेको भनाई

काठमाडौं,भाद्र,३-

नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल उत्तर कोरियाको भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ ।

भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेटेर युद्धमा भन्दा वार्ता र संवादमा जोड दिन आग्रह गरेको नेता नेपालले बताउनुभयो ।

एशियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया पुगेका नेपालले आज फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै किमसँग भेटेको बताउनु भएको हो । 

उनले पछिल्लो समय अमेरिकासँगको बढ्दो तनावका बारेमा वार्ताबाटै समस्या समाधान निकाल्न जोड दिएको बताउनुभयो । उत्तर कोरिया सुरक्षाको दृष्टिले नजान आग्रह गरिएपनि नेपाल गएका थिए । नेपालसँग माओवादी नेता हरिबोल गजुरेल र संघीय समाजवादी फोरमकी छाया शर्मा पनि जानु भएको थियो ।