निर्वाचनका लागि सम्पूर्ण तयारी पूराः आयोग

काठमाडौं,असार, १२-

निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण व्यवस्थापन दुरुस्त रहेको बताउनुभयो । ‘मतपेटिकासहित निर्वाचन सामग्री लिएर मतदान अधिकृतहरू सबै मतदान केन्द्र पुगिसकेका छन्, सुरक्षाकर्मी र अन्य कर्मचारीको उपस्थिति पनि भइसकेको छ,’ ‘हरेक ढंगले तयारी पूरा भइसकेको छ । कुनै प्रकारको समस्या छैन ।’

मतदान केन्द्रमा पुगेका कर्मचारीले मतदाता परिचयपत्र वितरण गरिरहेको पनि उनले जानकारी दिनुभयो । परिचयपत्र लिन आएकालाई मतपत्र देखाएर नमुना मतदान अभ्याससमेत गराइएको बताउनुभयो ।

‘कमसे कम मतपत्र बदर होस् भन्नेतर्फ आयोग सतर्क छ, त्यसका लागि मतदानको अघिल्लो दिनसम्म मतदान केन्द्रमा मतदाता शिक्षाका कार्यक्रम राखिएका छन,’ उहाँले भन्नुभयो ।

मतपत्र ठूलो रहेकाले बदरको प्रतिशत बढी देखिएको छ । पहिलो चरणको निर्वाचनमा ११ दशमलव १८ प्रतिशत मत बदर भएको पाइएको छ । दोस्रो चरणको निर्वाचनमा धेरै कम मत बदर हुने आयोगको दाबी छ । आजको कान्तिपुरमा खबर छ ।