ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढ्यो

सरोकारवाला द्धारा चिन्ता व्यक्त

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,१७-
ओखलढुंगामा लैङ्गिक हिंसाका घटना बढेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज सिद्धिचरण नगरपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

Okhaldhunga district

पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको हुन सक्ने पनि अधिकारकर्मीले बताएका छन् । सिद्धिचरण महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको अन्तरक्रिया मा सिद्धिचरण नगरपालिकाको वडा नं ११ र १२ का जनप्रतिनिधी, महिला अधिकारकर्मी, सरोकारवाला, स्थानीयबासी लगायत को सहभागिता रहेको थियो ।

अन्तरक्रियामा बोल्दै वडा नं ११ का वडाध्यक्ष विनोद कुमार केसीले हिंसाका घटनामा कानुन भन्दा पनि सामाजिक तथा भौगोलिक मानसिकता अनुसार काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । पछिल्लो समय पुरुषहरु पनि हिंसामा पर्न थालेको घटना बाहिरीन थालेको समेत उहाँले बताउनुभयो । लैंगिक हिंसा न्युनीकरणको लागि कुनै पनि नियम, कानुन भन्दा मानसिक विकास हुनुपर्ने उहाँको तर्क रहेको थियो ।

भर्खरै लागु भएको स्थानीय तहका जनप्रतिनीधि र कर्मचारी बीचमा समन्वयको कमी भइदिँदा काम गर्न गाह्रो भएको अधिकारकर्मीहरुको प्रतिक्रियामा उहाँले यो संरचना हालै मात्र लागु भएको हुनाले केही कमीकमजोरी भएको स्वीकार गर्दै यस्तो असमन्जसता बिस्तारै हट्दै जाने बताउनुभयो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले हिंसा न्युनीकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । लिंगको आधारमा हुने कुनै पनि किसिमको भेदभावले नै पछि गएर हिंसाको रुप लिने बताउँदै उहाँले लैंगिक हिंसा विरुद्धको सचेतना घरै बाट सुरुवात हुनुपर्नेमा जोड दिनुभयो ।