भारत-चीन सीमामा चिनियाँ सैन्यको उपस्थिति बढ्दो, उच्चस्तरिय सैन्य वार्ता सकियो

काठमाडौं,जेठ,२५-सीमा समस्या समाधानका लागि भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ ।सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाउँदै भारतीय भूमिमा गतिविधि बढाएकाले गम्भीर रुपमा वार्ता गर्ने भारतले बताएको थियो ।

चिनियाँ क्षेत्रमा पर्ने पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) को माल्दोस्थित बोर्ड पर्सोनेल मिटिङ पोइन्टमा वार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वार्तालाई उल्लेख नगरी भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भारतीय र चिनियाँ अधिकारीहरू भारत–चीन सीमा क्षेत्रहरूको वर्तमान अवस्थालाई सम्बोधन गर्न स्थापित सैन्य र कूटनीतिक माध्यमहरूमार्फत वार्तालाई निरन्तरता दिने सहमति भएको जनाइएको छ ।

वार्तामा भारतले भारतीय सेनाको गस्ती टोलीले चिनियाँ पक्षले बाधा पुर्याएको कुरा राखेको थियो ।भारतीय वार्ता टोलीको नेतृत्व लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व तिब्बत मिलिटरी डिस्ट्रिक्ट कमाण्डर लिउ लिनले गरेका समाचारमा जनाइएको छ ।

पछिल्लो एक महिनादेखि लद्दाख क्षेत्रमा दुबै मुलुकका सेनाबीच तनाव सिर्जना भएपछि विवाद उत्पन्न भएको थियो ।लद्दाखको पैंगोङ झील र पूर्वी लद्दाखको गलवान घाँटीको संवेदनशील क्षेत्रको विषयमा विवाद सिर्जना भएको थियो ।

यसअघि दुवै पक्षका स्थानीय कमाण्डरबीच १२ पटक र मेजर जनरल तहमा तीन पटक वार्ता भइसके पनि निर्णायक परिणाम हासिल गर्न नसकेपछि उच्चस्तरीय सैन्य वार्ता भएको हो । (एजेन्सी)