एमाले माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै

आजको बैठकबाट प्रतिवेदन पारित गर्ने तयारी

काठमाडौं, चैत,२०-

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ ।दुई दलबीचको एकता प्रक्रियाका बाँकी विषय टुंगो लगाउने उद्देश्यका साथ बैठक बस्न लागेको हो ।

एकता संयोजन समितिका सदस्यहरुबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ । तर एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन भने बाँकी रहेको छ ।आजको बैठकमा यिनै विषयमा छलफल गरी सहमतिको प्रयास हुने बताइएको छ ।

गत फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरिसकेको छ । आजको बैठकबाट प्रतिवेदन पारित गर्ने तयारी भएको छ ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् ।त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी दुई दलले गरेका छन् ।