गरिव बस्तीमा धमाधम बाटो निर्माण

नेपालगञ्ज, चैत्र २० –

नेपालगञ्जका मुख्य सडक तथा ढल÷नाला निर्माणको तिव्रता बढीरहेका बेला गरिव बस्तीमा समेत धमाधम बाटो निर्माण भइरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत कालिका जेडी्टएसजे जेभीले अहिले सडक, नाला निर्माणको काम गरिरहेको छ ।

एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा परियोजना कार्यान्वयन इकाइमार्फत नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण भइरहेको छ । यस्तै परियोजनाको सामुदायिक विकास कार्यक्रम अन्तगर्त पनि नगरका २८ वटा वस्तीमा बाटो निर्माण गरिदैछ । परियोजनाका अनुसार गरिव बस्तीका १३ वटा बाटोमा पीसीसी निर्माण गरिसकिएको छ भने ७ वटा निर्माणाधिन रहेका छन् ।

यस्तै अन्य केही वस्तीमा भने पीसीसी निर्माणका लागि सम्झौता लगायतका प्रक्रिया भइरहेका छन् । ८० प्रतिशत सामुदायिक विकाय कार्यक्रम र २० प्रतिशत उपभोक्ताको सहभागितामा स्थानीय उपभोक्ता समितिमार्फत नै बाटो निर्माण गरिएको परियोजनाका टिम लिडर डा जनार्दन आचार्यले जानकारी दिनु भयो ।

परियोजनाका सामाजिक विज्ञ मदन झा काअनुसार–स्थानीयकै अग्रसरतामा साघुरा गल्लीलाई चौडा बनाउँदै बाटो निर्माण गरिएको हो । बाटो निर्माणसँगै शिक्षा, स्वास्थ्य, सरसफाई लगाएतका कार्यक्रम पनि सञ्चालन भइरहेको सामाजिक विज्ञ झाले जानकारी दिनु भयो । यसैवीच उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर नेतृत्वको एक टोलीले ति बाटोको स्थलगत अवलोकन तथा निरिक्षण गरेको छ ।

नेपालगञ्ज वडा २० जयसपुर, वडा न १५ पीप्रहवा, वडा ९ बाँके गाउँ, वडा न २ लाली गुराँस टोल, वडा न ४ देवाफूलवारी लगायतमा निर्माण सम्पन्न विभिन्न बाटोको अनुगमन गरिएको हो । बाटो बढाएर पीसीसी बनाइएपछि धेरै सहज भएको स्थानीयको भनाई छ ।

मदरसा इश्लामिया जयसपुरका शिक्षक गुलाम रसुलले पीसीसी निर्माणपछि बस्तीको सुन्दरतासँगै पानीको सहज निकास र आवतजावतमा सहज भएकोमा खुसी प्रकट गर्नु भयो । अनुगमनपश्चात उपप्रमुख थापामगरले भौतिक विकाससँगै मानवीय विकासमा जोड दिन आवश्यक रहेको भन्दै त्यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताउनु भयो ।