नेपाल सुपर लिगको टिकट पेवेलले बेच्ने, सम्झौतापत्रमा हस्ताक्षर

फाईल तस्विर !!

काठमाडौं,चैत,११-बैशाख ११ देखि २५ गतेसम्म हुने नेपाल सुपर लिग (एनएसएल)का लागि नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले टिकेटिङ पार्टनरको रूपमा पेवेलसँग सम्झौता गरेको छ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार एक कार्यक्रम गरेर पेवेलसँग सम्झौता गरेको हो । नेपाल सुपर लिगकी अध्यक्ष आश्रेयता कार्की चौधरी र पेवेलमन प्रमुख कार्यकारी अधिकृत भीम प्रसाद तिमिल्सिनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगितामा पेवेलले आधिकारिक रूपमा टिकट बिक्री गर्ने छ । यद्यपि टिकट दर भने अझै सार्वजनिक गरिएको छैन । आउँदा कार्यक्रममा टिकट दर सार्वजनिक गरिने आयोजकले जनाएको छ । विगतमा टिकट वितरणमा भएको कमी कमजोरीलाई अध्ययन गरेर टिकट वितरण गर्न लागेको पेवेलले जनाएको छ ।

७ टोलीबीच प्रतिस्पर्धा हुने लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्दैछन् ।