आजबाट तिहार सुरु

पहिलो दिन कागको पूजा गरिदैं

काठमाडौं, असोज ३१-

नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।यस दिन कागलाई पूजा आजा गरी खान नदिइ आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

तिहारको दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल सम्वत्को नयाँ वर्ष ११३८ र म्हःपूजा अर्थात् आत्मपूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।