के हो सनातन हिन्दू धर्म

 रमानन्द शास्त्री /

मसुरिया,कैलाली,साउन,२७-
सनातन शव्द त्यस्तो जीवन पद्धतिसंग सम्बन्धित विषयवस्तु हो , जो सधैं थियो र जसको उत्पत्ति र जन्म संग कहिल्यै ,कसैले सरोकार राख्न चाहेन / सकेन , र , जुन सिद्धांत अनादि कालदेखि सँधै रही रह्यो । सनातन त्यस्तो धर्म वा जीवन पद्धति हो जसको विकास प्रक्रिया अनवरत निरन्तर चलिरह्यो ।

जसरी यसका जन्मदाता कोही भेटिन्न त्यसरी नै यो मेरो प्रयाशले स्थापना भएको हो भन्नेपनि छैनन् । यो ईश्लाम , क्रिश्चियनिटी, बुद्धिज्म, जैनिज्म, जरथुस्त्रियन, पारसीक ,सेमेटिक आदि जस्तो कुनै न कुनै पैगंबर या ईश्वरीय दूतका संदेशहरुमा निर्भर रहेको देखिन्न । यी धर्म भनिएका चिजहरुको सिद्धांत , तिनका दूत विशेष संग गासिएको क्रियाविधिद्वारा प्रभावित भएको पाइन्छ ।

तिनका पेगम्बरहरुको तत्कालिन जीवनशैली नै तिनका अनुयायीहरुकोलागि आधारशीला हुन पुगेको देखिन्छ । जवकि सनातन हिन्दू धर्म यस्तो परंपरा भन्दा एकदम अलग्ग छ । यो त्यस्तो प्रवाहमय विचारधारा र सरल जीवन पद्धति हो जो सागर झैँ गहिरो हिमाल झैँ उच्च भै अटल रहेको छ । यसको आदि , अंत केही छैन त्यसकारण अविनाशी ईश्वर सरह सर्वशक्तिमान परमात्मा प्रति यो सँधै अजेय रही निरंतर समर्पित हुँदै आएको छ ।

सनातन भित्रको सनातनले आदिदेखि अन्तसम्म रहीरहने वा जसको कहिल्यै अन्त नहुने वा जसको आरंभनै थाहा हुन नसक्ने भन्ने हो | त्यसैले जे सत्य हो त्यै सनातन हो । तर , जुरथुस्त भन्दा पहिले पारसी धर्मावलम्बी थिएनन , भगवान सिद्धार्थ गौतम भन्दा पहिले २८ बटा बुद्ध जन्मेका थिए तर बुद्ध धर्म थिएन । ईशु भन्दा पहिले मुसा थिए तर ईशाई मत थिएन । मुसा भन्दा पहिले यहुदी थिएनन ।

मुहम्मद भन्दा पहिले ईश्लाम धर्म थिएन । के थियो त भन्दा मात्र सत्य सनातन र यो नै सदा शर्वदा थियो , अझ भनौ शृष्टिको प्रारम्भदेखि निरन्तर आजसम्म रहदै आएको छ । सनातनी भित्र हेर्यौ भने पनि श्री कृष्णको गीता भगवान श्री कृष्ण जन्मिनु भन्दा पहिले थिएन ।श्री रामको कथा राम जन्मिनु भन्दा पहिले थिएन । महालक्ष्मी समुद्र मंथन भन्दा पहिले थिइनन् ।

गणेश जन्मिनु भन्दा पहिले उनको अस्तित्व थिएन । पुराणहरु केलाउदा – शिव पुराण अनुसार शिवजीले विष्णु र ब्रह्माको शृष्टि गरे त्यसकारण विष्णु र ब्रह्मा सनातनी हुन् पुगेनन् । विष्णु पुराण अनुसार विष्णुले शिव र ब्रह्माजीलाई शृष्टि गरे त्यसकारण शिव र ब्रह्मा सनातन हुन् पुगेनन् । ब्रह्म पुराण अनुसार ब्रह्माले विष्णु र शिवजिको शृष्टि गरे त्यसकारण ति सनातनी कहलिएनन ।

देवी पुराण अनुसार देवीले ब्रह्मा, विष्णु र शिवजिको शृष्टि गरिन त्यसकारण ती तिनै सनातनी हुन् सकिनन् । यही रहश्य केलाउंदै हामी यो युगमा प्रवेश गरि सकेका छौं , त्रिगुण भित्र एक गुण र एकगुण भित्र त्रिगुण संधैं खोज्दछौ । यहि प्रक्रिया अनादिकालदेखि आजसम्म निरन्तर चलि रहेको छ ।

सनातन र विश्वका अरु कथित धर्म विचको भेद
—————————————————
यस आर्यावर्तको प्रमुख धर्म सनातन हिन्दूधर्म हो । यसमा प्राचीनता ,विशालता समेटिएकोले गर्दा यसलाई ‘सनातन हिंदू धर्म’ भनिएको हो । यहूदी , ईशाइ ,मुशाई , ईश्लाम , बौद्ध, जैन ,शिख ,आदि धर्महरु जस्तो हिन्दूधर्म कुनै पोप या पेगम्बर वा कुनैव्यक्ति विशेषद्वारा स्थापित धर्म होइन ।

यो श्रिष्टिको प्रारम्भिक कालदेखि आजसम्म निरन्तर चलेर आएको कारण यसभित्र विभिन्न धर्महरु , मतमतांतरहरु , विभिन्न पन्थ ,आस्था एवं बिश्वाशहरु समष्ठिगत स्वरुपमा रहन सकेको हो  । सनातन हिन्दू धर्मको सेरोफेरो भित्र पुजिदै आएका र तदअनुरुप आराध्य मानिएका भगवान राम ,कृष्ण ,परशुराम ,वामन ,बुद्ध आदि देवी देउताहरुलाई एकछिन पाखा लाउने जमर्को गर्यौं भनेपनि हिन्दू धर्मको सनातन मूल स्वरुपमा कुनै फरक पर्न जाँदैन ।

अरु धर्ममा तिनका सम्बन्धित महापुरुषहरुलाई पाखालाउने प्रयाश गरी हेर्यौं भने तिनको धर्मको स्वरुपको अस्तित्व लोप हुन् पुग्दछ – चाहे मुशाको यहूदी होस् या येशुक्रिष्टको क्रिस्तान या मोहम्मद पैगम्बरको ईश्लाम होस वा बुद्धको बौद्ध वा महावीरको जैन वा जुरुथुस्त्रको अवेस्ता ।

यसको कारण प्रष्ट छ भगवान राम वा कृष्ण या परशुराम आदिको कालखण्ड भन्दा पहिलेपनि सनातन हिन्दू धर्म जिउँदो थियो , आजपनि छ र भोलीपनि रही रहनेछ ।यो एक विकासशील धर्म भएको कारणलेगर्दा यसमा विभिन्न कालखण्डमा नयाँ नयाँ आयामहरु थपिंदै गएको चाहीं पक्का हो।

सनातनभित्र आदिमकालका ग्राम देवताहरुदेखि भूत , प्रेत ,पिशाच सम्म , डाकिनी साकिनीदेखि स्थानीय देवीदेउता सम्म , झारफूक, तंत्रमन्त्रदेखि त्रिदेव सहितका तेत्तीसकोटी देवीदेउताहरु सम्म अनि निराकार निर्गूण ब्रह्मदेखि अत्यंत गम्भीर दर्शनसम्म बिनाकुनै अन्तर बिरोध यसभित्र समेटिएर बसेको छ । हामी सनातानीहरु ठाउँहेरी आफ्नो आस्था र विश्वाश अनुसार सबै देवीदेउताहरुको आराधना ,पूजा आजा पूर्ण श्रद्धाका साथ गर्ने गर्दछौं ।

सनातन हिन्दूधर्म एकदम स-सानोदेखि बृहद परम्पराहरुको समन्वयको स्वरुपपनि हो । यसमा एकातिर वैदिक तथा पुराणकालीन देवीदेउताहरुको पूजाआजा गर्ने गरिएको छ भने अर्कोतिर कपालिक , धामी झाँक्री , झारफूक , लासमाथि बसेर गर्ने डरलाग्दो अनुष्ठान , सम्झिँदै जिउ सिरिङ्ग गर्ने आराधनापनि गरिने गरिन्छ ।

मानव मंस भक्षणदेखि पशु बलि दिने सम्म , नाङ्गा नागा बाबादेखि धूर्त पाखण्डी गेरु वस्त्रधारी र श्वेत्वस्त्रधारीहरुहरुसम्मपनि यसैभित्र समेटिएर बसेका छन  भक्तिरशका भक्तहरुदेखि अनीश्वर अनात्मवादीहरुसम्म र एकेश्वर मान्नेदेखि वहुईश्वर मान्नेसम्म , वेदान्त दर्शनदेखि लोकायत ( चार्वाक ) दर्शनसम्मका नास्तिकहरुपनि गुजुल्टिएर रहेका छन् ।

सनातन हिन्दू धर्मभित्र विरोधी सिद्धान्तहरुपनि अँटाएका छन्  । त्यसकारण सनातन हिंदूधर्मको विशाल छाहारीमा आर्य समाजी जस्ता धूर्त पाखण्डीहरु , गेरुवस्त्र भिरेर छद्म रुपमा रहेका ईशाई र यवनहरुपनि समेटिन पुगेका छन । यहिनै सनातन हिन्दू धर्मावलम्वीहरुको उदारता, सर्वधर्मसमभाव, समन्वयशीलता र धार्मिक सहिष्णु हो ।